रसुवाका बाढी पीडितलाई राजेन्द्र राउतको ११ लाख सहयोग

  • चिरफार डटकम, विराटनगर ८२  पटक हेरिएको

बिहिबार, भाद्र ११, २०८३ समय : १७:३६:४१ , ३ घन्टा अगाडि

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष एवं वरिष्ठ उद्योगी राजेन्द्र राउतले रसुवा जिल्लाका बाढी पीडित परिवारलाई ११ लाख रुपैयाँ सहयोग गरेका छन् ।

विराटनगरको प्रतिष्ठित औद्योगिक घराना शिवम ग्रुपका अध्यक्ष राजेन्द्र राउतले व्यक्तिगत रूपमा रसुवाका बाढी पीडित परिवारलाई ११ लाख रुपैयाँ सहयोग गरेको हो ।

रसुवाको भोटे कोशी नदीमा आएको भिषण बाढीबाट ज्यान गुमाएका, प्रभावित भएका नागरिकको खोज तथा उद्धारका लागि वरिष्ठ उद्योगी राजेन्द्र राउतले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को राहत कोष मार्फत ११ लाख रुपैयाँ सहयोग गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले कोशी प्रदेशका सम्पूर्ण उद्योगी, व्यवसायी तथा संघ संगठनहरुलाई रसुवाका बाढी पीडित परिवारलाई सहयोग गर्न आग्रह गरेका छन् ।

बुधवार रसुवामा आएको भोटे कोशी नदीको भिषण बाढीबाट ठुलो धनजनको क्षति भएको छ । रसुवाको नदी किनारमा बसोबास गरिरहेका सयौँ परिवार बेपत्ता हुनुको साथै विस्थापित भएका छन् । सडक, पूर्वाधार, भौतिक संरचनामा क्षति पुगेको छ भने बिजुली सेवा ठप्प छ ।