भाद्र २० गते शनिवार विराटनगरमा श्रीराधाकृष्णको दुई बेग्ला–बेग्लै रथयात्रा

  • ब्रह्मदेव यादव, विराटनगर २१५  पटक हेरिएको

बुधबार, भाद्र १७, २०८३ समय : १५:४४:२६ , ४ घन्टा अगाडि

भाद्र २० गते शनिवार विराटनगरमा श्रीराधाकृष्णको दुई बेग्ला–बेग्लै रथयात्रा निकालिने तयारीलाई तीव्र पारिएको छ । दुवै रथयात्राको समय तालिका फरक फरक रहेको छ ।

विराटनगर–१ तीनपैनीस्थित पुरानो तथा ऐतिहासिक श्रीराधाकृष्ण रथयात्रा दिनको ३ः३० बजे निकालेर रातीको ९ बजे समापन हुनेछ । विराटनगर–३ मानगढस्थित श्रीराधाकृष्ण रथयात्रा बिहान ७ः३० बजे निकालेर दिउँसो १२ः०० बजे समापन हुनेछ । प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टीको भोलीपल्ट विराटनगरमा श्रीराधाकृष्ण रथयात्रा निकालिने पुरानो तथा ऐतिहासिक परम्परा छ ।

विराटनगर–१ तीनपैनीस्थित श्रीराधाकृष्ण मन्दिर मूल समारोह समितिले भाद्र २० गते शनिवार ९५औं संस्करणको श्रीराधाकृष्ण रथयात्रा निकालिने तयारीलाई तीव्र पारेको छ । भाद्र २० गते शनिवार विराटनगर–३ मानगढस्थित श्रीराधाकृष्ण मन्दिर मूल समारोह समितिले ३२औं संस्करणको श्रीराधाकृष्ण रथयात्रा निकालिने तयारी सुरु गरेको छ ।

विराटनगर–१ तिनपैनीस्थित श्रीराधाकृष्ण रथयात्रा भारतको उडिसा राज्यको जगन्थानपुरी पछि दक्षिण एसियाकै सबै भन्दा ठुलो पुरानो तथा ऐतिहासिक रथयात्रा हो । जुन रथयात्रामा नेपाल र भारतका गरी ५ लाख भन्दा बढी भक्तजन सहभागी हुन्छन् ।

श्रीराधाकृष्ण रथयात्रा मूल समारोह समितिका अध्यक्ष कैलाश रेग्मीले बुधवार पत्रकार सम्मेलन गरेर ९५औं संस्करणको रथयात्राबाट प्राप्त दान भेटीको रकम प्रधानमन्त्री बालेन शाहको दैविक प्रकोप राहत कोष मार्फत रसुवाको बाढीपीडित परिवारलाई सहयोग गर्ने जानकारी गराए ।

श्रीराधाकृष्ण मन्दिर समितिका उपाध्यक्ष नन्दकिशोर राठी, सचिव कृष्ण कार्की र कोषाध्यक्ष नरेश राठी पत्रकार सम्मेलनमा सहभागी थिए । विराटनगर–३ मानगढस्थित श्रीराधाकृष्ण मन्दिर मूल समारोह समितिले बुधवार पत्रकार सम्मेलन गरेर रथयात्राको रुट बारे जानकारी गराए ।

श्रीराधाकृष्ण मन्दिर मूल समारोह समितिका संयोजक पशुपति रेग्मी र महासचिव केशवप्रसाद आचार्यले पत्रकार सम्मेलन गरेर भाद्र २० गते शनिवार बिहान ७ः३० बजेदेखि दिउँसो १२ः०० बजेसम्म रथयात्रा निकालिने जानकारी गराए । रथयात्रा निकाल्न साढे ५ लाख रुपैयाँ खर्च हुने र खर्च भएको रकम रथयात्रामा सहभागी भक्तजनबाट सहयोग लिने अध्यक्ष रेग्मीले बताए ।

रथयात्रा सहभागी सबै भक्तजनलाई दिउँसोको खाना खुवाउने कार्यक्रम रहेको महासचिव अचार्यले बताए । विराटनगर–३ मानगढस्थित श्रीराधाकृष्ण मन्दिरको प्राङ्गणबाट भाद्र २० गते शनिवार बिहान ७ः३० बजे निस्कने रथयात्रा पुष्पलाल चौक, ठुलो मिल चौक, कञ्चनवारी चौक, आयल निगम, औषधि व्यवस्था विभाग, राजवंशी चौक, खारजी चौक, ढाट, मदन नगर चौक, तालिम केन्द्र हुँदै पुनः मन्दिरमा पुगेर समापन हुनेछ ।

विराटनगर–१ तीनपैनीस्थित श्रीराधाकृष्णको पुरानो तथा ऐतिहासिक रथयात्रा भाद्र २० गते शनिवार दिनको ३ः३० बजे निस्केर तीनपैनीबाट रोडशेष चौक, महेन्द्र चौक, बरगाछी चौक हुँदै पुनः मन्दिरमा पुगेर समापन हुनेछ ।