कोशी प्रदेशमा भित्रियो १ खर्ब ५२ अर्ब १६ करोडको लगानी

  • ब्रह्ममदेव यादव, विराटनगर ४४४  पटक हेरिएको

शुक्रबार, बैशाख १९, २०८२ समय : २०:१५:०९ , १ दिन अगाडि

कोशी प्रदेशमा १ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँ लगानी भित्रिएका छन् । कोशी प्रदेश सरकारले आयोजना गरेको पहिलो लगानी सम्मेलन मार्फत १ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँ लगानी भित्रिएको हो ।

कोशी प्रदेश सरकारले २०८२ साल वैशाख १८ र १९ गते विराटनगरमा आयोजना गरेको लगानी सम्मेलनको समापन समारोहमा ४६ वटा परियोजनामा लगानी कर्ताले लगानी गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

लगानी सम्मेलनको दोस्रो दिन शुक्रवार लगानी कर्ता र कोशी प्रदेश लगानी प्राधिकरण बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई साक्षी राखेर कोशी प्रदेश लगानी प्राधिकरणको कार्यालय विराटनगरका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइराला र लगानी कर्ता बिच सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

विराटनगरका उद्योगी नेपाल उद्योग परिसंघ कोशी प्रदेश समिति विराटनगरका अध्यक्ष पवनकुमार सारडा र मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले संयुक्त रूपमा पशुपति इनर्जी प्रोजेक्टमा १ अर्ब ६० करोड रुपैयाँ लगानी गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । पशुपति इनर्जी प्रोजेक्ट सुनसरीमा रहेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समिति विराटनगरका अध्यक्ष राजेन्द्र राउतले आर.आर. अस्पताल निर्माणका लागि २ अर्ब ४० करोड रुपैयाँ लगानी गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । मोरङको बुढीगंगा गाउँपालिकामा राउतले आर.आर. अस्पताल निर्माण गर्नेछन् ।

लगानी कर्ताले कृषि, पर्यटन, उद्योग, पूर्वाधार, कफी, कोदो रक्सीको ब्राण्डीङ क्षेत्रमा लगानी गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । कोशी प्रदेश सरकारले १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ बराबरको ७१ वटा परियोजनालाई सोकेसिङ गरेका थिए ।