
- ब्रह्मदेव यादव, विराटनगर ७७० पटक हेरिएको
बुधबार, जेठ ०७, २०८२ समय : १३:५९:३९ , ४ हप्ता अगाडि
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउत माथि दोस्रो कार्यकालका लागि अध्यक्ष पदको जिम्मेवारी लिन दबाब बढेको छ । नेपालको प्रतिष्ठित औद्योगिक घराना शिवम् अर्गनाइजेशनका अध्यक्ष राउत नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य हुँदै कोशी प्रदेश समितिको अध्यक्ष पदमा कार्यरत रहेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिमा १ वर्ष कार्यकाल बाँकी रहेको अवस्थामा दोस्रो कार्यकालका लागि पुनः अध्यक्ष पदको जिम्मेवारी सम्हाली दिन कार्यकारिणी समितिका पदाधिकारीदेखि सदस्यहरूले दबाब दिई रहेका छन् । महासंघको कोशी प्रदेश समितिका कार्यकारिणी समितिका अधिकांश पदाधिकारी र सदस्यहरू दोस्रो कार्यकालका लागि अध्यक्ष पदको जिम्मेवारी राउतले लिनु पर्ने पक्षमा रहेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिमा निर्वाचित पदाधिकारीको कार्यकाल ३ वर्षको हुन्छ । महासंघको विधानले पनि एक व्यक्ति दुई कार्यकाल अध्यक्ष पदमा निर्वाचित भएर काम गर्न पाउने व्यवस्था छ । महासंघ कोशी प्रदेश समितिमा राउतले अध्यक्ष पदको जिम्मेवारी सम्हाले पछि निजी क्षेत्रको हक हित र अधिकार स्थापितका लागि निरन्तर संघर्षरत रहेका छन् ।
अध्यक्ष राउतको २ वर्षे कार्यकालमा मोरङको बढिगंगा गाउँपालिकामा ३ करोड ७५ लाखको लागतमा महासंघ कोशी प्रदेश समितिको आफ्नै भवन निर्माण भइरहेको छ । अढाई तल्ले भवन निर्माण गर्ने लक्ष्यका साथ अगाडी बढेको अध्यक्ष राउतको संघर्ष, कडा मेहनत र लगनशीलताका कारण एक तल्लो भवन निर्माणको कार्य जारी छ ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिले २०८१ माघ २१ गते विराटनगरमा आयोजना गरेको ७ औं प्रदेश सभाको बैठकको दौरान भवनको शिलान्यास गरिएको छ । भवन निर्माणका लागि दाताहरूले अहिलेसम्म स्वतफुर्त रूपमा १ करोड ४ लाख रुपैयाँ सहयोग रकम महासंघ कोशी प्रदेश समितिको बैंक खातामा ट्रान्सफर गरिसकेका छन् । र निरन्तर भवन निर्माणका लागि सहयोग रकम जुट्ने कार्य जारी छ ।
महासंघको भवन निर्माण कार्य पुरा गर्नका लागि अध्यक्ष राउत नेतृत्वको आवश्यकता छ । महासंघ कोशी प्रदेश समितिका कार्यकारिणी सदस्य एवं उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष विरेन्द्रकुमार साहले महासंघ कोशी प्रदेश समितिको भवन निर्माण कार्य पुरा गर्नका लागि राउतलाई नै पुनः एक पटक अध्यक्षमा दोहोराउन आग्रह गरिएको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको अध्यक्ष पदको जिम्मेवारी सम्हालिसकेपछि राउतले रोजगार मेला, कृषि मेला र ढाका महोत्सवको सफल आयोजना गरिसकेका छन् ।