
- चिरफार डटकम, विराटनगर ४२१ पटक हेरिएको
बिहिबार, जेठ ०८, २०८२ समय : १४:२८:१२ , ३ हप्ता अगाडि
कोशी प्रदेशको राजधानी विराटनगरमा दुई दिने सीप उत्सव २०८२ को आयोजना हुन लागेको छ । निजी क्षेत्र उद्योग संगठन मोरङले बिहीबार पत्रकार सम्मेलन गरेर १ हजार भन्दा बढी विद्यार्थीहरू सीप उत्सवमा सहभागी हुने जानकारी गराए । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना र उपाध्यक्ष विपिन काबरा पत्रकार सम्मेलनमा सहभागी थिए ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले सीप बिना काम खोज्न गारो । र सीप बिना काम दिन पनि गारो भइरहेको अवस्थामा दक्ष कामदार उत्पादन गर्ने उद्देश्यका साथ सीप उत्सवको आयोजना गर्न लागेको बताए । सीप उत्सवमा सबै नेपाली विद्यार्थी सहभागी हुने र सीप हासिल गरिसकेपछि दक्ष कामदारको छनौट गरिने अध्यक्ष सुरानाले बताए ।
पछिल्लो समय नेपाली विद्यार्थी कक्षा ११ र १२ को अध्ययन पुरा गरेर उच्च शिक्षा हासिल गर्ने क्रममा विदेश पलायन हुने क्रम जारी रहेकोले त्यसलाई केही हदसम्म भए पनि रोक्न र बेरोजगारलाई नेपालमै रोजगार उपलब्ध गराउने सीप उत्सवको उद्देश्य रहेको अध्यक्ष सुरानाले बताए ।
यही जेठ १० र ११ गते उद्योग संगठन मोरङको सभा हलमा २ दिने सीप उत्सवको कार्यक्रम सञ्चालन हुनेछ । २०८२ वैशाख २२ देखि ३० गतेसम्म कोशी प्रदेशको झापा, मोरङ र सुनसरी जिल्लाको ७ वटा विद्यालयमा सूचना प्रविधि, अटोमोबाइल र होटेल व्यवस्थापनमा अध्ययनरत विद्यार्थीहरू बिच आन्तरिक प्रतिस्पर्धाबाट १८ जना उत्कृष्ट विद्यार्थी छनौट भएका छन् ।
यसरी छनौट भएका विद्यार्थीलाई सीप उत्सवमा सहभागिता गराइने छ । हरेक विद्यालयबाट प्रथम र द्वितीय स्थान हासिल गर्ने विद्यार्थीलाई कोशी प्रदेश (स्किल आइकन) को उपाधि प्रदान गरिने छ । उद्योग संगठन मोरङले कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेर सीप परियोजना (इन्स्योर) को सहयोगमा सीप उत्सवको आयोजना गर्न लागेको हो ।