
- ब्रह्मदेव यादव, विराटनगर ७०५ पटक हेरिएको
शुक्रबार, जेठ ०९, २०८२ समय : १६:३०:२७ , ३ हप्ता अगाडि
राजश्व अनुसन्धान विभागले कोशी प्रदेशमा उद्योगी एवं व्यवसायी सँग अवैध रकम असुली गरिरहेका छन् । यस विषयमा तीन तहकै सरकार चुप छ । राजश्व अनुसन्धान विभागको इटहरी सुनसरी कार्यालयले कोशी प्रदेशमा उद्योगी एवं व्यवसायीहरूलाई सामानको स्टक हेर्ने नाममा डर धम्की देखाएर वार्षिक रूपमा माटो रकम असुली गरिरहेका छन् ।
राजश्व अनुसन्धान कार्यालय इटहरीमा उत्तमकुमार घिमिरे प्रमुख अनुसन्धान अधिकृत रहेका छन् । उनको टिमले कोशी प्रदेशको राजधानी विराटनगरका उद्योगी व्यवसायी सँग सेटिङ गरेर वार्षिक रूपमा करोडौँ भन्दा बढि रकम असुली गरिरहेका छन् । उद्योगी व्यवसायी सँग सेटिङ गरे अनुसार मासिक रूपमा रकम बुझिरहेका छन् ।
विराटनगरका एक जना उद्योगीले गुनासो सुनाए : राजश्व अनुसन्धान इटहरीका प्रमुख अनुसन्धान अधिकृत घिमिरे सहित उनको अनुसन्धान टोलीले स्टक हर्ने नाममा उद्योगी व्यवसायीलाई डर धम्की देखाएर एक वर्षमा ५ लाख रुपैयाँ दिनुपर्ने गरी सेटिङ गर्छ । र प्रत्येक महिना सेटिङ अनुसार मासिक रूपमा रकम बुझिरहेका छन् । स्टक हेर्ने नाममा उद्योगी एवं व्यवसायी प्रतिष्ठानमा प्रवेश गर्ने गरेका अनुसन्धान टोलीले लेखा शाखा र व्यवसायीको दराज र पकेटमा भेटिएको रकम हिसाब किताब खोज्ने नाममा पनि अवैध असुली गरिरहेका छन् ।
उद्योगी व्यवसायीले यस विषयमा निजी क्षेत्रको संघ संगठनदेखि विभिन्न राजनीति दलका नेता समक्ष कुरा उठाएका छन् । तर विकृति रोक्ने गरी कही कतैबाट कोही पनि अगाडि बढ्न चाहिरहेका छैनन् । समाचारको विषयमा प्रतिक्रिया लिन प्रमुख अनुसन्धान अधिकृत घिमिरे सँग सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।