
- ब्रह्मदेव यादव, विराटनगर २५१ पटक हेरिएको
मंगलबार, आषाढ ०३, २०८२ समय : १६:४४:३९ , ९ घन्टा अगाडि
विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/०८२ को ११ महिनामा ३० अर्ब ५७ करोड ५२ लाख १८ हजार रुपैयाँ राजश्व असुली गरेको छ । जुन लक्ष्यको तुलनामा ८०.५७ प्रतिशतले राजश्व असुली हो । विगत २ आर्थिक वर्षदेखि निरन्तर राजश्व घट्दो क्रममा रहेको बेला प्रमुख भन्सार अधिकृतको रूपमा विराटनगर भन्सार कार्यालयको जिम्मेवारी सम्हालेको उमेश श्रेष्ठको कार्यकालमा राजश्व असुलीमा सुधार आएको छ । र भन्सार राजश्वको असुली प्रतिशत बढेको छ ।
कार्यालयले आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि जेठ महिनासम्म ३७ अर्ब ९४ करोड ५६ लाख ७३ हजार रुपैयाँ राजश्व असुली गर्नुपर्ने लक्ष्य पाएको थियो । कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा २७ अर्ब ७८ करोड ३८ लाख ८० हजार रुपैयाँ राजश्व असुली गरेको थियो । तर कार्यालयले आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिमा २ अर्ब ७९ करोड १३ लाख ३८ हजार रुपैयाँ बढि राजश्व असुली गर्न सफल भएको छ ।
विराटनगर भन्सार कार्यालयमा ज्ञानेन्द्रराज ढकाल प्रमुख भन्सार अधिकृत रहेको बेला आर्थिक वर्ष २०८०/०८१ मा कार्यालयले ३० अर्ब रुपैयाँ राजश्व संकलन गरेका थिए । तर उमेश श्रेष्ठ प्रमुख भन्सार अधिकृतको रूपमा कार्यरत रहेको बेला आर्थिक वर्ष २०८१/०८२ को ११ महिनामै ३० अर्ब ५७ करोड रुपैयाँ राजश्व असुली गरेका छन् । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१÷०८२ मा ४१ अर्ब ५५ करोड रुपैयाँ राजश्व असुली गर्नुपर्ने लक्ष्य पाएको छ ।
आर्थिक वर्ष २०८१/०८२ सकिन १ महिना बाँकी रहेको अवस्थामा लक्ष्य भेटाउने गरी कार्यालयले काम गरिरहेको छ । विराटनगर भन्सार कार्यालयले भन्सार महशुल, अन्तशुल्क, मूल्य अभिवृद्धि (भ्याट), कृषि सुधार कर लगायतको शीर्षकमा कर असुली गरिरहेका छन् । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले आर्थिक वर्ष २०८०÷०८१ को तुलनामा आर्थिक वर्ष २०८१÷०८२ मा राजश्व असुलीमा वृद्धि भएको र लक्ष्य भेटाउने गरी सेवा ग्राहिलाई सेवा प्रवाह गरिरहेको बताए ।