
- ब्रह्मदेव यादव, विराटनगर ५८७ पटक हेरिएको
सोमबार, आषाढ १६, २०८२ समय : १३:५०:५४ , २३ घन्टा अगाडि
सरकारका साझेदार नेपाली कांग्रेस निकट आपूर्ति तथा उपभोक्ता विभाग उद्योगी समस्या समाधान गर्न अगाडी बढेको छ । आपूर्ति तथा उपभोक्ता विभागले सोमबार विराटनगरमा आयोजना गरेको आर्थिक वर्ष २०८२/०८३ को बजेट र यसले उपभोक्ता बजार आपूर्ति श्रृंखलामा पार्ने प्रभाव विषयक अन्तरक्रिया कार्यक्रम मार्फत उठेको समस्यालाई समाधान गर्न नेतृत्वदायी भूमिकाका साथ अगाडी बढेको छ ।

नेपाली कांग्रेस निकट आपूर्ति तथा उपभोक्ता विभागका केन्द्रीय सदस्य फुलकुमार लालवानीले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा रहेको कमीकमजोरीलाई सच्याउने उद्देश्यका साथ उद्योगी एवं व्यवसायी सँग छलफल कार्यक्रम आयोजना गरेको बताए । उद्योगी एवं व्यवसायीको समस्या सुन्ने र त्यसलाई कांग्रेसको केन्द्रीय समितिको बैठकबाट समाधान गराउने उद्देश्यका साथ छलफल कार्यक्रमको आयोजना गरेको लालवानीले बताए ।
छलफलबाट उठेको समस्या र सुझावलाई प्रस्ताव तयार पारेर कांग्रेसको केन्द्रीय समितिमा बुझाउने र कांग्रेसको तर्फबाट सरकारमा सहभागी रहेका मन्त्री मार्फत समस्यालाई समाधान गराउने उद्देश्यका साथ छलफल कार्यक्रम आयोजना गरिएको लालवानीले बताए । नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले भारतबाट नेपालसम्म रेल आउने तर औद्योगिक सामग्री नआउने सरकारको अर्थ नीति अस्तव्यस्त तथा भद्रगोल रहेको बताए ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेश समिति विराटनगरका अध्यक्ष पवनकुमार सारडाले नेपालमा केही व्यक्तिले पहुँचको आधारमा बजेटलाई प्रभावित पार्ने काम भइरहेको बताए । पहुँचको भरमा बजेट निर्माण हुँदा देशको औद्योगिक क्षेत्र नाजुक अवस्थामा पुगेको सारडाले बताए ।
उद्योग संगठन मोरङका उपाध्यक्ष विपिन काबराले नेपालमा सञ्चालन भइरहेको १० वटा पाम आयल उद्योगको ९ सय करोड रुपैयाँको पाम आयल ७ महिनादेखि भारतको कलकता बन्दरगाहमा रोकिएको प्रति सरकार उदासीन रहेको बताए । मलेसिया र इण्डोनेशियाबाट नेपालमा आयात हुन लागेको पाम आयललाई सरकारले रिफाइनरी आयलको कोड भिडाइ दिँदा कलकता बन्दरगाहमा पाम आयल अलपात्र अवस्थामा रहेको उपाध्यक्ष काबराले बताए ।

सरकारले आर्थिक वर्ष २०८२/०८३ को लागि बजेट बनाउँदा पाम आयल उद्योगलाई संरक्षण एवं सम्वद्र्धन हुने गरी नीति नबनाएको कारण पाम आयल उद्योग बन्द हुने अवस्थामा रहेको उपाध्यक्ष काबराले बताए । नेपाल सुन–चाँदी व्यवसायी संघ विराटनगरका अध्यक्ष शशिभुषण साहले सुनको हरेक गहनाको बिक्रीमा लागु गरिएको २ प्रतिशत बिलासी कर र १३ प्रतिशत भ्याट कर खारेज नभएसम्म अनिश्चितकालिन पसल बन्द कार्यक्रम जारी रहने बताए ।
हुलास वायर्स उद्योगका सञ्चालिका युक्ति गोल्छाले सरकारको गलत नीतिका कारण १ महिनापछि वायर्स उद्योग बन्द गर्ने अवस्थामा पुगेको बताइन । मोरङ उद्योग व्यापार संघ विराटनगरका वरिष्ठ उपाध्यक्ष अनिल साहले सरकारको गलत कर नीतिका कारण अब नेपालीले आलु, प्याज र तरकारी सँगै सुनका गहना पनि भारतमै खरिद गर्नुपर्ने अवस्था श्रृजना भएको बताए । मोरङको बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापाले देशको प्रमुख दुई ठुला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले सरकार चलाइरहेकोले जनतालाई राहत दिने गरी काम गर्न सुझाव दिए ।
मोरङ चेम्बर अफ कमर्सका अध्यक्ष यादव पोखरेलले सरकारको गलत बजेट नीतिका कारण नयाँ उद्योगी खोल्ने होइन खुलेका उद्योग बन्द हुने अवस्थामा रहेको बताए । उपभोक्ता अधिकारकर्मी कृष्ण भण्डारी (मार्सेली) ले सरकारको गलत उद्योग एवं व्यापार नीति कारण जनता मारमा परिरहेको बताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले उद्योगी व्यवसायीको समस्यालाई कांग्रेसको केन्द्रीय समितिको बैठकमा प्रस्तुत गर्ने बताए ।