
- ब्रह्मदेव यादव, विराटनगर ३२० पटक हेरिएको
बिहिबार, साउन ०१, २०८२ समय : १२:५२:१३ , २ दिन अगाडि
आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आर्थिक वर्ष २०८१/०८२ मा ५४ करोड रुपैयाँ बढी राजश्व असुली गरेको छ । आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत भुपालराज शाक्यले आर्थिक वर्ष २०८०/०८१ मा ८ अर्ब ३५ करोड रुपैयाँ राजश्व असुली भएकोमा आर्थिक वर्ष २०८१/०८२ मा ८ अर्ब ८९ करोड रुपैयाँ असुली गर्न सफल भएको बताए ।
कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को तुलनामा २०८१/०८२ मा ६.५ प्रतिशतले बढी राजश्व असुली गरेका छन् । आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८१/०८२ मा ८ अर्ब ८९ करोड रुपैयाँ राजश्व असुली गरेको छ । कार्यालयले १० अर्ब ७२ करोड रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य पाएकोमा ८ अर्ब ८९ करोड रुपैयाँ राजश्व असुली गरेका छन् । जुन लक्ष्यको तुलनामा ८३ प्रतिशतले राजश्व असुली भएको हो ।
कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा आय कर तर्फ ३ अर्ब ८५ करोड रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य पाएकोमा ३ अर्ब ११ करोड, मूल्य अभिवृद्धि कर तर्फ २९ करोड रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य पाएकोमा २३ करोड र अन्तःशुल्क तर्फ ३५ करोड रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य पाएकोमा ३१ करोड रुपैयाँ राजश्व असुली गरेका छन् ।
कार्यालयले ब्याज कर तर्फ ३० करोड रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य पाएकोमा ३२ करोड रुपैयाँ राजश्व असुली गरेका छन् । जुन लक्ष्यको तुलनामा २ करोड रुपैयाँ बढी राजश्व असुली हो । आन्तरिक राजश्व विभागले आन्तरिक राजश्व कार्यालय विराटनगरलाई आर्थिक वर्ष २०८१/०८२ को पुस महिनामा अन्तःशुल्क कर तर्फ ९२ करोड रुपैयाँ थप राजश्व असुली गर्न भार थपिदिएको र यस कार्यालय अन्तर्गत रहेका १ दर्जन भन्दा बढी करदाता मझौला तथा ठुला करदाता कार्यालय काठमाडौँमा फाइल ट्रान्सफर भएकोले लक्ष्य अनुसारको राजश्व असुली हुन नसकेको प्रमुख कर अधिकृत शाक्यले बताए ।
देशको विषम परिस्थितिमा उत्साह पूर्वक राजश्व असुली गर्ने विषयमा आफू सहित कार्यालयका अधिकृत र कर्मचारी इमानदारीका साथ काम गरेको प्रमुख कर अधिकृत शाक्यले बताए । कार्यालयका अधिकृत र कर्मचारीले कडा मेहनत र इमानदारीका साथ काम गरेकै कारण आर्थिक वर्ष २०८०/०८१ को तुलनामा २०८१/०८२ मा ५४ करोड बढी राजश्व असुली भएको र यो समग्रमा उत्साह जनक राजश्व असुली भएको प्रमुख कर अधिकृत शाक्यले बताए ।