अरनिको कलेजमा अभिमुखीकरण कार्यक्रम

  • ब्रह्मदेव यादव, विराटनगर ६३३  पटक हेरिएको

शुक्रबार, साउन ०२, २०८२ समय : १३:२८:१३ , १ दिन अगाडि

विराटनगरको अरनिको कलेजले शुक्रबार नयाँ भर्ना भएका विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरे । अरनिको कलेजमा विज्ञान संकाय तर्फ कक्षा ११ मा भर्ना भएका नेपाल, भारत र वेस्टइन्डिजका १ हजार १ सय विद्यार्थी अभिमुखीकरण कार्यक्रममा सहभागि थिए ।

वेस्टइन्डिजमा चिकित्सक पेशा गरी रहेका डा. सुवोध यादवका छोरी एजिला यादव विराटनगरको अरनिको कलेजमा भर्ना भएका छन् । भारतको कालिङपुङ सिक्किम, भारत र नेपालका विद्यार्थी अरनिको कलेजमा भर्ना भएका छन् । भर्ना भएका सबै विद्यार्थी शुक्रबार अरनिको कलेजले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सहभागि थिए । नेपालका ख्याति प्राप्त चिकित्सक डा. तारा गिरी अभिमुखीकरण कार्यक्रमका प्रमुख अतिथि रहेका थिए ।

नेपालका ख्याति प्राप्त उत्प्रेरक समेत रहेका डा. गिरीले १ घण्टा समय खर्चेर अरनिको कलेजका विद्यार्थीलाई सफलता कसरी प्राप्त गर्ने विषयमा उत्प्रेरित गरेका थिए । अरनिको कलेज संचालक समितिका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारीको अध्यक्षतामा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा कलेजका संचालक एवं शिक्षक भरतराज दाहालले विद्यार्थीलाई स्वागत गर्दै कक्षा ११ र १२ को अध्ययन परिणामले नै उच्च शिक्षा अध्ययनको बाटो खुल्ने भएकोले कडा मेहनत र लगनशीलताका साथ अध्ययन गर्न विद्यार्थीलाई सुझाव दिए ।

कलेजका संचालक एवं कार्यक्रम संयोजक विकास खनालले कलेजको गतिविधिको बरेमा विद्यार्थीलाई जानकारी गराएका थिए । २०८२ सालको एसईई परीक्षामा अरनिको माध्यमिक विद्यालयबाट प्रथम स्थान हासिल गर्न सफल अग्रता डंगोललाई अरनिको कलेजले राजबहादुर–कमला कुवर छात्रवृत्ति प्रदान गरेका छन् । विज्ञान संकाय तर्फ कक्षा ११ र १२ अध्ययनका लागि डंगोलले २ लाख ५० हजार रुपैयाँको पूर्ण छात्रवृत्ति पाएकी छिन् ।

अरनिको कलेजले कक्षा ११ को तेस्रो त्रैमासिक परीक्षामा प्रथम, द्वितीया र तृतीय स्थान हासिल गरेका मन्जिला ओझा, सुलभ न्यौपाने र अजय लिम्बुलाई नगद पुरस्कार सहित सम्मान गरेका थिए । अरनिको कलेजले विज्ञान संकाय तर्फ कक्षा ११ अध्ययनका लागि लिएको प्रवेश परीक्षामा उच्च स्थान हासिल गरेका नितेशकुमार गुप्ता र मानसी मण्डललाई अरनिको प्रिन्सिपल अवार्ड प्रदान गरिएको छ । यो अवार्ड भनेको पूर्ण छात्रवृत्ति नै हो ।

अभिमुखीकरण कार्यक्रममा कक्षा ७ देखि कक्षा १२ सम्मका विद्यार्थीले नृत्य र गीत प्रस्तुत गरेका थिए । अरनिको कलेजका प्राचार्य राजेश कार्कीले नृत्य प्रस्तुत गरेका विद्यार्थीलाई मायाको चिनो प्रदान गरेका थिए । अरनिको कलेजका शिक्षक राजिव मिश्रले कविता प्रस्तुत गरेका थिए । अरनिकोका शिक्षक बिमल भट्टराईले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेका थिए ।