नेपाल महिला संघ मोरङले एक साथ मनाए स्थापना दिवस र तीज विशेष कार्यक्रम

  • ब्रह्मदेव यादव, विराटनगर ३४८  पटक हेरिएको

बुधबार, साउन २१, २०८२ समय : १५:१४:३३ , १७ घन्टा अगाडि

नेपाल महिला संघ मोरङले बुधबार विराटनगरमा एक साथ स्थापना दिवस र तीज विशेष कार्यक्रम मनाएका छन् । नेपाल महिला संघ मोरङले ७८औँ स्थापना दिवसको अवसरमा विराटनगर–२ स्थित उद्योग संगठन मोरङको हलमा आयोजना गरेको तीज विशेष कार्यक्रममा बाक्लो संख्यामा महिलाहरूको सहभागिता रहेको थियो ।

उद्योग संगठन मोरङका ५ सय क्षमताको हलमा १ हजार भन्दा बढी महिलाहरूको उपस्थिति रहेको थियो । जसको कारण महिला संघको कार्यक्रम अस्तव्यस्त रूपमा सम्पन्न भए । हलमा उपस्थित भएका महिलाका लागि बस्ने कुर्सीको अभावदेखि तीजको दरखाने बेलामा महिलाहरूले सास्ती व्यहोरेका थिए ।

नेपाल महिला संघ लेटाङका सभापति इन्दु चौधरीले अस्तव्यस्त महिला संघको कार्यक्रमप्रति असन्तुष्टि व्यक्त गर्दै कार्यक्रमबाट बाहिरिएका थिए । मोरङको १७ वटै स्थानीय तहका कांग्रेस निकट महिलाहरू कार्यक्रममा सहभागी भएका थिए ।

विराटनगरको खुल्ला मैदानमा गर्नुपर्ने कार्यक्रम एउटा हलमा आयोजना गरेकोले आयोजकलाई बस्नेदेखि तीजको दर खुवाउने बेलामा हम्मेहम्मे परेको थियो । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्व मन्त्री डा. मिनेन्द्र रिजाल कार्यक्रमका प्रमुख अतिथि रहेका थिए ।

नेपाल महिला संघ मोरङका सभापति शान्ता पौडेलको सभापतित्वमा आयोजना गरिएको स्थापना दिवस तथा तीज कार्यक्रमको उद्घाटन समारोहमा नेपाली कांग्रेस मोरङका कार्यबाहक सभापति भक्तिनाथ माझी, सचिव मोदराज घिमिरे, नेपाली महिला संघ मोरङका उपसभापति बिजेता अधिकारी, नेपाली कांग्रेस विराटनगर–२ का सभापति ज्ञानेश्वर नेपालले मन्तव्य व्यक्त गरेका थिए । नेपाल महिला संघ मोरङका सचिव प्रमिला थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।