
- ब्रह्मदेव यादव, विराटनगर ५४४ पटक हेरिएको
सोमबार, साउन २६, २०८२ समय : १५:२८:३२ , २ दिन अगाडि
नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) विराटनगरबाट विद्रोह गरेर गठन भएको कृष्ण लाईफले विराटनगरमा श्रीकृष्ण जन्माष्टमीको कार्यक्रम गर्ने भएको छ ।
इस्कोनको अन्तर्राष्ट्रिय उच्च निकायले सिद्धस्वरुप दासलाई विराटनगर, बिर्तामोड र भैरहवामा कृष्णको मन्दिर स्थापना गरेर प्रचार–प्रसारको कार्यक्रम गर्न अनुमति पाएको छ । लगत्तै सिद्धस्वरुप दासले विराटनगरमा कृष्ण लाईफको केन्द्रीय कार्यालय स्थापना गरेर श्रीकृष्ण जन्माष्टमीको कार्यक्रम आयोजना गर्न लागेको हो ।
कृष्ण लाईफका मुख्य संरक्षक सिद्धस्वरुप दास र केन्द्रीय कार्यालय विराटनगरका अध्यक्ष साधु शरण प्रधानले आइतबार पत्रकार सम्मेलन गरेर भाद्र ३१ गते शनिबार विराटनगरको सिटी प्यालेस होटेल एण्ड रिसोर्टमा आयोजना गर्न लागेको कृष्ण जन्माष्टमीको कार्यक्रममा ३० देखि ४० हजार भक्तजनको सहभागिता रहने जानकारी गराए ।
अघिल्लो वर्ष कृष्ण लाईफका पदाधिकारीहरूले इस्कोन प्रभुपादको नाममा आयोजना गरेको कृष्ण जन्माष्टमीको कार्यक्रममा ३० देखि ४० हजार भक्तजनहरूले सहभागिता जनाएका थिए । कृष्ण जन्माष्टमीको कार्यक्रम आयोजना गर्न १५ लाख रुपैयाँ खर्च हुने कृष्ण लाईफका मुख्य संरक्षक सिद्धस्वरुप दासले जानकारी गराए ।
कृष्ण लाईफले साउन ३१ गते शनिबार विराटनगरको सिटी प्यालेस होटेल एण्ड रिसोर्टमा श्रीकृष्ण जन्माष्टमीको कार्यक्रम आयोजना गर्नेछ ।
भाद्र १ गते आइतबार विराटनगरमा निस्कने ५८औं संस्करणको श्रीराधाकृष्ण रथयात्रामा कृष्ण लाईफको ब्यानरमा सांस्कृतिक झाँकी सहित सहभागिता जनाउने कार्यक्रम रहेको मुख्य संरक्षक सिद्धस्वरुप दासले बताए ।
विराटनगर महानगरपालिकाको वडा नं. १० स्थित नमस्कार होटेलको गल्लीमा कृष्ण लाईफ संस्थाको केन्द्रीय कार्यालय रहेको छ । र त्यही कार्यालयबाट कृष्ण लाईफको कार्यक्रम सञ्चालन भइरहेको छ ।