मारवाडी युवा मञ्चको नयाँ अभ्यास, १२ घण्टा १२ कार्यक्रम

  • ब्रह्मदेव यादव, विराटनगर ३०७  पटक हेरिएको

मंगलबार, साउन २७, २०८२ समय : १८:३९:५५ , १ दिन अगाडि

मारवाडी युवा मञ्च विराटनगरले नयाँ अभ्यासको शुभारम्भ गरेका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मारवाडी युवा मञ्च विराटनगरले मंगलबार १२ घण्टामा १२ कार्यक्रम सम्पन्न गरेका छन् । मंगलबार बिहान ७ बजेदेखि साँझ ६ बजेसम्ममा मञ्चले विराटनगरको विभिन्न स्थानमा १२ कार्यक्रम आयोजना गरेर नयाँ रेकर्ड कायम गरेका छन् ।

मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष मोहित लालवानी सहित मञ्चका पदाधिकारी र सदस्यहरूले विराटनगरमा सञ्चारकर्मी सँग आयोजना गरेको चिया गफ विषय अन्तरक्रिया कार्यक्रममा १२ घण्टामा आयोजना गरेको १२ कार्यक्रमको बारेमा जानकारी गराए ।

मञ्चका अध्यक्ष लालवानीले मंगलबार बिहान ७ बजे टि टाइम विथका साथ शुभारम्भ गरेको कार्यक्रम अन्तर्गत आमाको माया छात्रावासमा ब्रेक फास्ट, आमाको सेवामा चिया कुकिज, नरसेवा नारायण सेवाद्वारा विराटनगरको कोशी अस्पतालमा आयोजित भोजन सेवाको अवलोकन, आँखा जाँच शिविर, वृद्ध आमाका लागि कोसेली उपहार, औषधि वितरण, वृक्षारोपण, वयोवृद्ध सँग आशीर्वाद ग्रहण, मानव सेवा आश्रममा भोजन सेवा सञ्चालन गरेको जानकारी गराए ।

मञ्चका अध्यक्ष लालवानी सहित पदाधिकारी र सदस्यहरूले पत्रकार सँग अन्तरक्रिया गर्दै विराटनगरका दुई क्यासिनोमा मारवाडी युवाहरूको आवतजावत रहेको र जसको कारण उद्योग व्यापार तहसनहस अवस्थामा पुगेकोले त्यसलाई रोक्न आग्रह गरेका थिए ।

नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष सुशिला पाठकले युवालाई उद्यमसँग जोड्न सुझाव दिए ।