विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पताल २५ वर्षमा 

  • ब्रह्मदेव यादव, विराटनगर १८७  पटक हेरिएको

बिहिबार, भाद्र ०४, २०८२ समय : १६:३३:०६ , ६ घन्टा अगाडि

५ सय करोड रुपैयाँको लगानी रहेको विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पताल २५ वर्षमा प्रवेश गर्न लागेको छ । यही भाद्र ८ गतेदेखि न्यूरो कार्डियो अस्पताल २५ वर्षमा प्रवेश गर्दैछ ।

अस्पताल सञ्चालक समितिले बिरामीलाई सहुलियतदेखि लिएर सत्ताव्यापी रूपमा विविध कार्यक्रमको आयोजना गरेर रजत महोत्सव मनाइ रहेका छन् । न्यूरो कार्डियो अस्पतालका संस्थापक एवं वरिष्ठ कन्सल्टयान्ट न्यूरो लोजिष्ट डा. विरेन्द्र विष्ट र अस्पतालका अप्रेसनल डाइरेक्टर राजेश भट्टराईले बिहीबार पत्रकार सम्मेलन गरेर अस्पतालबाट प्रवाह भइरहेको सेवा सुविधाको बारेमा जानकारी गराए ।

अप्रेसनल डाइरेक्टर भट्टराईले न्यूरो कार्डियो अस्पतालमा डाक्टर, नर्स सहित ६ सय ५० जना कर्मचारी कार्यरत रहेको बताए । न्यूरो कार्डियोले नेपाल सरकारसँग २ सय ५० बेर्डको अस्पताल सञ्चालन गर्न अग्रिम स्वीकृति लिई सेकको छ । यतिखेर न्यूरो कार्डियो १ सय ५० बेर्डको अस्पतालको मान्यता पाएर सञ्चालन भइरहेको छ ।

अप्रेसनल डाइरेक्टर भट्टराईले झापा, सिराहा र सुनसरीमा न्यूरो अस्पतालको शाखा विस्तार गर्न लागिएको जानकारी गराए । झापामा जग्गा खरिद भइसकेको र अस्पताल निर्माणको प्रक्रिया अगाडि बढेको भट्टराईले बताए । डा. विरेन्द्र विष्टले २०५७ साल भाद्र ८ गते न्यूरो डाइग्नोष्टिक एण्ड रिसर्च सेन्टर सञ्चालनमा ल्याएका थिए ।

जुन रिसर्च सेन्टर २०६२ असोज १ गतेदेखि न्यूरो अस्पतालको रूपमा रूपान्तर भएको थियो । न्यूरो कार्डियो अस्पतालले न्यूरोलोजी सेवा, मुटु रोग सेवा, जनरल मेडिसिन सेवा, स्त्री रोग तथा प्रसुती सेवा, मानसिक रोग, नेफ्रोलोजी सेवा, ग्याष्ट्रोलोजी सेवा, न्यूरो सर्जरी सेवा, हाडजोर्नी रोग सेवा, जनरल सर्जरी तथा ल्याप्रोस्कोपिक सेवा, नवजात शिशु तथा बाल स्वास्थ्य सेवा, नाक, कान, घाँटी सेवा, युरोलोजी सेवा र नेत्र रोग सेवा सञ्चालन गरिरहेका छन् । अस्पतालमा ५० प्रतिशत भन्दा बढी भारतीय बिरामी उपचारका लागि आउने गरेको अप्रेसनल डाइरेक्टर भट्टराईले बताए ।