
- ब्रह्मदेव यादव, विराटनगर ३५९ पटक हेरिएको
मंगलबार, भाद्र १०, २०८२ समय : १४:४४:१९ , १२ घन्टा अगाडि
विराटनगर भन्सार प्रशासन विरुद्ध असन्तुष्ट सिटी सफारी चालकले मंगलबार रानीको ढाट हटाइदिएका छन् । विराटनगर भन्सार प्रशासनले नेपाल–भारतको अन्तर्राष्ट्रिय सिमानाका रानी नाका सँगै १ नं. ढाटमा लामो समयदेखि लगाएको फलामको ढाट सिटी सफारी चालकले हटाइ दिएको हो ।
मंगलबार बिहान बाक्लो संख्यामा उपस्थित भएका सिटी सफारी चालकले रानीको ढाट हटाइ दिएको हो । विराटनगर भन्सार प्रशासनले जोगबनी–विराटनगर रिक्सा रोडको प्रवेशद्वार मार्फत रातीको समयमा तस्करीको लाइन सञ्चालन भइरहेको र त्यसलाई रोक्नका लागि १ नं. ढाटलाई पूर्णरुपमा बन्द गरेर सवारी साधना आवतजावतमा रोक लगाएका थिए ।
सर्वसाधारणका लागि आवतजावत गर्न ढाट एक तर्फबाट खुल्ला गरिएको थियो । जोगबनीबाट किनमेल गरेर विराटनगर फर्किने गरेका सर्वसाधारणलाई रानी नाकासँगै विराटनगर भन्सार प्रशासनले १ नं. ढाटमा लगाएको ढाट र त्यसपछि सीमा प्रहरी कार्यालय रानीले लगाएको अर्को ढाटको कारण आवतजावत गर्न असजिलो भएको भन्दै सिटी सफारी चालकले मंगलबार ढाट हटाइदिएको हो ।
आन्दोलनकारी एक सिटी सफारी चालकले भने: एकै ठाउँमा दुईवटा ढाटको कनै आवश्यकता छैन । त्यस कारण १ नं. को ढाट हटाइदिएको उनले बताए । जोगबनी– विराटनगरको रिक्सा रोडमा होटेल व्यवसायी सञ्चालन गरिरहेका सयौँ व्यवसायी पटक पटक विराटनगर भन्सार प्रशासन सँग १ नं. ढाट खोल्न आग्रह गर्दा पनि ढाट खुलेको थिएन ।
विराटनगर भन्सार प्रशासनले रानीको १ नं. ढाटमा लगाएको ढाट सिटी सफारी चालकले हटाइदिएपछि त्यस क्षेत्रमा २ सय भन्दा बढी मोटरसाइकल र स्कुटर पार्किङ गर्न सकिने ठाउँ खाली भएको छ ।
नेपालीहरूको महान चार्ड पर्व विजया दशमी, तिहार र छठ पर्वको बेला किनमेल गर्न जोगबनी जाने सर्वसाधारणलाई मोटरसाइकल र स्कुटर पार्किङ गर्ने ठाउँको अभाव थियो । मंगलबारदेखि रानीको १ नं. ढाट खाली भएपछि ती ठाउँ मोटरसाइकल र स्कुटर पार्किङ गर्न सकिने स्थानको रूपमा प्रयोग गर्न सकिन्छ ।
सीमा प्रहरी कार्यालय रानीका प्रहरी सहायक निरीक्षक भीमबहादुर खड्काले सिटी सफारी चालकले रानीको १ नं. ढाटमा लगाइएको फलामको ढाट हटाइ दिएको बताए । सिटी सफारी चालकले रानी नाकाको १ नं. ढाट हटाइ दिएको बारे विराटनगर भन्सार प्रशासन र प्रहरी प्रशासनको उच्च निकायलाई जानकारी गराइएको खड्काले बताए ।