
- ब्रह्मदेव यादव, विराटनगर १६५ पटक हेरिएको
मंगलबार, भाद्र १०, २०८२ समय : १७:०९:१६ , ९ घन्टा अगाडि
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा पेश भइसकेको आमसञ्चार विधेयक सच्चिन समय लाग्न सक्ने प्रतिक्रिया दिएका छन् ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री कार्कीले मन्त्री परिषद्को बैठकबाट अनुमोदन भएर न्याय प्रशासन तथा विधान समितिले पारित गरिसकेको आमसञ्चार विधेयक सरकारको क्षेत्राधिकार बाहिर गइसकेको बताए ।
नेपालीहरूको महान चाँड पर्व विजया दशमी अगाडी कोशी प्रदेश सभाको हिउँदे अधिवेशन सक्नु पर्ने अवस्था छ । सरकारसँग समय थोरै भएकोले हिउँदे अधिवेशनमा आमसञ्चार विधेयक माथि छलफल र बहस हुन सक्दैन ।
आमसञ्चार विधेयक पारित गर्नेकी नगर्ने अधिकार कोशी प्रदेश सभामा निहित रहेकोले सरकार यस बारे चाहेर पनि केही गर्न सक्ने अवस्था नरहेको मुख्यमन्त्री कार्कीले बताए । कोशी प्रदेश सरकारले भाद्र ६ गते शुक्रबार प्रदेश सभामा आमसञ्चार विधेयक दर्ता गरिसकेका छन् ।
पत्रकारले समाचार लेखेकै आधारमा बढीमा डेढ लाख रुपैयाँसम्म दण्ड र जरिवानाको सजाय विधेयकमा उल्लेख गरिएकोले त्यसलाई सच्याउन माग गर्दै नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति आन्दोलित छन् । चरणबद्ध आन्दोलनको कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
आन्दोलनकै कार्यक्रम अन्तर्गत मंगलबार नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का र महासचिव हिमा चेम्जोङले मुख्यमन्त्री कार्कीलाई विधेयक सच्याउन माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।