आन्तरिक राजश्व कार्यालय विराटनगरद्वारा युद्धस्तरमा काम सुरु

  • ब्रह्मदेव यादव, विराटनगर ४८५  पटक हेरिएको

सोमबार, भाद्र ३०, २०८२ समय : १३:३५:१९ , ७ महिना अगाडि

जेन–जी युवा पुस्ताको आन्दोलनको क्रममा तोडफोड र आगजनीबाट सबै भन्दा बढी प्रभावित रहेको आन्तरिक राजश्व कार्यालय विराटनगरले सोमबारदेखि युद्धस्तरमा काम सुरु गरेको छ ।

करदातालाई चाडो भन्दा चाडो सेवा प्रवाह गर्ने उद्देश्यका साथ काम सुरु गरिएको प्रमुख कर अधिकृत केशवकुमार उप्रेतीले बताए । प्रमुख कर अधिकृत उप्रेतीले सोमबार कार्यालय परिषरमा टेबल र कुर्सी राखेर काम सुरु गरेको हो ।

प्रमुख कर अधिकृत उप्रेतीका अनुसार आन्दोलनको क्रममा जलेर नष्ट भएको सम्पत्तिबारे मुचुल्का तयार पर्ने काम भइरहेको बताए ।

भाद्र २४ गते मंगलबार जेन–जी आन्दोलनको क्रममा आन्तरिक राजश्व कार्यालय विराटनगरको मुख्य प्रशासनिक भवन, निवास तथ्याङ्क कार्यालय भवन र क्यान्टिनमा तोडफोड, लुटपाट र आगजनी भएको थियो ।

कार्यालयमा रहेको ७ वटा गाडी, २८ वटा मोटरसाइकल जलेर नष्ट भएका छन् । प्रमुख कर अधिकृत उप्रेतीले कार्यालयमा भएको तोडफोड, लुटपाट र आगजनीका कारण भएको क्षति मूल्याङ्कन समितिले गर्ने रिपोर्टको आधारमा बाहिर ल्याउने बताए ।