
- ब्रह्मदेव यादव, विराटनगर ३१६ पटक हेरिएको
बुधबार, आश्विन २२, २०८२ समय : १७:२७:३४ , ६ दिन अगाडि
नेपाल र भारतको सीमान्त क्षेत्र जोगबनी बजारमा भइरहेको व्यापार बारे विराटनगरको निजी क्षेत्र चुपचाप छ । जेन–जी आन्दोलनपछि सुशिला कार्कीको नेतृत्वमा गठन भएको चुनावी सरकारले अर्थतन्त्रलाई माथि उठाउने काम गर्न नसक्ने निष्कर्ष निकाल्दै जोगबनीको व्यापार बारे विराटनगरको निजी क्षेत्र खुलेर विरोधमा उत्रिने अवस्था नरहेको एक उद्योगीले बताए । केही दिन अगाडी विराटनगरको निजी क्षेत्रले मोरङ उद्योग व्यापार संघमा आयोजना गरेको छलफल कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले चुनावी सरकारले अर्थ नीति परिमार्जन गर्न सक्ने अवस्था नरहेको दिएको अभिव्यक्तिपछि उद्योगी व्यवसायी जोगबनीको व्यापार बारे बोल्न छोडेका छन् ।
देशका दुई ठुला पार्टी नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्वमा सरकार गठन भएपछि नेपालमा कर नीतिमा व्यापार फेरबदल गरेर भारतकै हाराहारीमा नेपालमा लत्ताकपडादेखि खाद्यान्न सामग्रीको मूल्य कायम हुनु पर्ने विराटनगरको निजी क्षेत्रले अपेक्षा गरेका थिए । तर कांग्रेस–एमाले नेतृत्वको सरकारले निजी क्षेत्रको मर्म र भावना अनुरूप कर नीतिमा परिमार्जन गर्न नसक्दा जोगबनीको व्यापार बढेको बढै छ । र विराटनगरको व्यापार घटेको घटै छ ।
जसको कारण विराटनगर सहित देशभरिका नागरिक सस्तो मूल्यमा लत्ता कपडादेखि खाद्यान्न सामग्री किनमेल गर्न जोगबनी जाने परम्परा छ । विराटनगर महानगरपालिका सँग सिमाना जोडिएको जोगबनीमा सामान्य अवस्थामा प्रत्येक दिन २ देखि ३ करोडको कारोबार हुन्छ ।
चाड पर्वको बेला प्रत्येक दिन ५ देखि ७ करोडको कारोबार हुन्छ । चाड पर्वको बेला काठमाडौँबाट विराटनगर आइपुगेका जोकोही नेपाली नागरिक निर्धक्कका साथ किनमेल गर्न जोगबनी पुग्छन् । बढीमा १ देखि ५ लाख रुपैयाँ सम्मको किनमेल गरेर नेपाल फर्किने गरेका छन् ।
जेन–जी आन्दोलनपछि जलेर विराटनगर ध्वस्त भएपछि अधिकांश नेपालीको किनमेल यस पटक जोगबनीमा भएको छ । विजया दशमीको बेला प्रत्येक दिन ५० हजार भन्दा बढी सर्वसाधारणहरूले जोगबनीमा किनमेल गरेका थिए । र तिहार सुरु हुन भन्दा अगाडि जोगबनीमा किनमेल गर्न जाने नेपालीको संख्या बाक्लि रहेको छ । यस तर्फ विराटनगरको निजी क्षेत्र उदासीन छ । तर खुलेर विरोध गर्ने अवस्था नरहेको उद्योगी व्यवसायीको भनाइ छ ।
पछिल्लो समय भारत सरकारले जिएसटी करमा कटौती गरेका छन् । जसका कारण विराटनगरको तुलनामा जोगबनीमा ५० प्रतिशतले लत्ताकपडादेखि खाद्यान्न सामग्री सस्तो छ ।