बिहारको प्रत्येक घरका १ जनालाई सरकारी जागिर

  • चिरफार डटकम, विराटनगर २२५  पटक हेरिएको

बिहिबार, आश्विन २३, २०८२ समय : १७:५२:३६ , ५ दिन अगाडि

भारतको बिहार राज्यमा महागठबन्धनको तर्फबाट मुख्यमन्त्री पदका उम्मेदवार तेजस्वी यादवले सरकार बनाएको खण्डमा प्रत्येक घरबाट १ जनालाई सरकारी जागिर दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तेजस्वी यादव बिहारका पूर्व मुख्यमन्त्री द्वय लालु यादव र रावडीदेवी यादवका कान्छो छोरा हुन् । बिहारमा राष्ट्रिय जनता दलको तर्फबाट लालु यादव र रावडीदेवी यादव मुख्यमन्त्री भइसकेका छन् । तेजस्वी यादवको पार्टी राष्ट्रिय जनता दलले बिहीबार पत्रकार सम्मेलन गरेर बिहारका प्रत्येक घरबाट १ जनालाई सरकारी जागिर दिने प्रतिबद्धता जाहेर गरेका छन् ।

पत्रकार सम्मेलनमा तेजस्वी यादवले वाचा गरेका छन् कि महागठबन्धनको सरकार बनेको २० दिन भित्रमा कानुन निर्माण गर्ने र २० महिना भित्रमा प्रत्येक घरका १ जनालाई सरकारी जागिर दिने प्रतिबद्धता व्यक्त गरेका हुन् । तेजस्वी यादवले सरकार गठन भएको खण्ड ५ वर्षभित्रमा १० लाख बिहारका जनतालाई सरकारी जागिर दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तेजस्वी यादव जनता दल यूनाइटेड सँग मिलेर १७ महिना सरकार चलाउँदा साढे ५ लाख बिहारका जनतालाई सरकारी जागिर दिएका थिए । जनता दल यूनाइटेडको तर्फबाट नितिशकुमार मुख्यमन्त्री रहेको बेला तेजस्वी यादव सरकारका उपमुख्यमन्त्रीको भूमिकामा थिए ।

बिहारमा राष्ट्रिय जनता दल, राष्ट्रिय कांग्रेस, बामदल सिपिआइ र भिआइपी दल मिलेर महागठबन्धन निर्माण गरेका छन् । महागठबन्धनले भारतीय जनता पार्टी, जनता दल यूनाइटेड लगायतको एनडिए गठबन्धनसँग प्रतिस्पर्धा गर्नेछ । भारतको बिहारमा एक महिनापछि दुई चरणमा विधान सभाको निर्वाचन हुने मिति तोकेको छ । बिहार विधान सभामा २ सय ४३ निर्वाचन क्षेत्र रहेका छन् ।