कोशी अस्पतालमा निःशुल्क दिवा भोजन कार्यक्रमको २ वर्ष पुरा

  • ब्रह्मदेव यादव, विराटनगर २३७  पटक हेरिएको

सोमबार, आश्विन २७, २०८२ समय : १३:२४:४५ , २० घन्टा अगाडि

“नर सेवा–नारायण सेवा” नामक सामाजिक संस्थाले “अन्नपूर्णा रसोई” अन्तर्गत “भोकालाई भोजन प्यासालाई पानी” नाराका साथ विराटनगरको कोशी अस्पतालमा सञ्चालन गरिरहेको निःशुल्क दिवा भोजन वितरण कार्यक्रम २ वर्ष पुरा भएको छ ।

विराटनगरको “नर सेवा–नारायण सेवा” नामक सामाजिक संस्थाले २०८० साल असोज २८ गते विजया दशमीको घटस्थापनाको दिनदेखि कोशी अस्पतालमा उपचार सेवा लिन आउने बिरामीका कुरुवाहरूलाई लक्षित गरेर निःशुल्क दिवा भोजन वितरण कार्यक्रम सञ्चालनमा ल्याएका थिए ।

२ वर्षदेखि निरन्तर सञ्चालनमा रहेको दिवा भोजन कार्यक्रमले ७ सय ३० दिन पुरा गरेको हो । कोशी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रुना झा सोमबार दिवा भोजन वितरण कार्यक्रम २ वर्ष पुरा भएको अवसरमा कार्यक्रममा सहभागिता जनाउँदै बिरामीका कुरुवाहरूलाई दिवा भोजन वितरण गरेका थिए । २०८२ साल असोज २८ गते मंगलबार दिवा भोजन वितरण कार्यक्रम तेस्रो वर्षमा प्रवेश गर्दैछ ।

दिवा भोजन वितरण कार्यक्रम २ वर्ष पुरा भएको अवसरमा “नर सेवा–नारायण सेवा” ले सोमबार स्पेसल दिवा भोजन वितरण गरेका छन् । “नर सेवा–नारायण सेवा” का संस्थापक अध्यक्ष पृथ्वी अग्रवाल (देवेन्द्र) ले सोमबार ५ सय जनालाई स्पेसल भोजन अन्तर्गत खिर, पुरी, पुलाउ, सब्जी, सलाद र अचार वितरण गरिएको बताए ।

विराटनगरमा बसेर उद्योग, व्यापार सँगै सामाजिक क्षेत्रमा सक्रिय रहेका पृथ्वी अग्रवाल, देवकीनन्दन अग्रवाल, विजय गोयल सहित १७ जना संस्थापकहरूको पहलमा कोशी अस्पतालका बिरामीका कुरुवाहरूलाई लक्षित गरेर निःशुल्क दिवा भोजन वितरण कार्यक्रम सञ्चालनमा ल्याएका थिए ।

“नर सेवा–नारायण सेवा” का संस्थापक सदस्यहरूले पृथ्वी अग्रवाललाई दिवा भोजन वितरण कार्यक्रमको संयोजक तोकेका थिए । र अहिलेसम्म पृथ्वी अग्रवाल दिवा भोजन कार्यक्रमका संयोजक रहेका छन् । पृथ्वी अग्रवाल र देवकीनन्दन अग्रवालले कोशी अस्पतालमा निःशुल्क दिवा भोजन वितरण कार्यक्रम सञ्चालन गर्नका लागि अस्पताल प्रशासन सँग अनुमति लिएका थिए ।

विराटनगरको कोशी अस्पताल पूर्ण सरकारी स्वामित्वको अस्पताल हो । र कोशी अस्पतालमा सञ्चालनमा रहेको दिवा भोजन कार्यक्रमलाई निजी क्षेत्रले सहयोग गरिरहेका छन् । प्रत्येक दिन बिहान ११ बजेदेखि “नर सेवा–नारायण सेवा” का पदाधिकारी, सदस्य र स्वयमसेवकहरुले ३ सय जना बिरामीका कुरुवाहरूलाई दिवा भोजन वितरण गरिरहेका छन् ।

यस बाहेक “नर सेवा–नारायण सेवा” का पदाधिकारी र संस्थापकहरूको पहलमा विराटनगरमा निकालिने श्री राधाकृष्ण रथयात्रामा सहभागी भक्तजनहरूलाई प्रसाद वितरण गरिरहेका छन् । यस बाहेक विजया दशमीको दिन विराटनगरमा दसैँको मेला हेर्न आएका सर्वसाधारणहरूलाई प्रसाद वितरण गर्ने गरेका छन् ।