
- ब्रह्मदेव यादव, विराटनगर १९७ पटक हेरिएको
मंगलबार, आश्विन २८, २०८२ समय : १६:०२:३४ , ८ घन्टा अगाडि
महंगो भएपनि नेपालमै सामान किनमेल गर्न नेपाल सरकारले देशवासीलाई आग्रह गरेका छन् । विराटनगर महानगरपालिका सँग सिमाना जोडिएको नेपाल–भारतको सीमान्त क्षेत्र भारत बिहारको जोगबनी बजारमा चाड पर्वको बेला सामान किनमेल गर्न जाने नेपालीको संख्या बढिरहेको अवस्थामा नेपाल सरकारको यस्तो भनाइ आएको हो ।
जोगबनी बजारमा प्रत्येक दिन चाड पर्वको बेला ५ देखि ७ करोड र सामान्य अवस्थामा २ देखि ३ करोड रुपैयाँसम्मको कारोबार हुन्छ । जोगबनी बजारमा किनमेल गर्न जाने ९० प्रतिशतभन्दा बढी नेपाली ग्राहक नै रहेका छन् । नेपाल सरकारले नेपाल भारतको अन्तर्राष्ट्रिय नाका रानी नाकामा बोर्ड झुन्ड्याएर देशका नागरिकलाई नेपालमै सामान किनमेल गर्न आग्रह गरेका छन् ।
जेन्जी आन्दोलनपछि नेपालमा गठन भएको सुशिला कार्की नेतृत्वको सरकारका अर्थमन्त्री रामेश्वर खनालले अर्थ मन्त्रालय मार्फत रानी नाकामा बोर्ड झुन्ड्याउन लगाएर नेपाललाई माया गर्ने हरेक नेपालीलाई नेपालको रुपैयाँ नेपालमै खर्च गर्न देशवासीसँग आग्रह गरेका छन् ।
पछिल्लो समय भारत सरकारले जिएसटी करमा भारी कटौती गरेको छ । जसको कारण नेपालको तुलनामा भारतमा लत्ताकपडादेखि खाद्यान्न सामग्री ५० प्रतिशतले सस्तो छ । र सस्तो दरमा सामान किनमेल गर्न जाने नेपालीको घुइँचो नै लाग्ने गरेको छ ।
अर्थमन्त्री खनालले केही समय अगाडी विराटनगरमा निजी क्षेत्रसँग छलफल गर्दै चुनावी सरकारले कर नीति परिमार्जन गर्न नसक्ने सरकारको धारणा सार्वजनिक गरेका थिए । अर्थमन्त्रीको अभिव्यक्तिपछि निजी क्षेत्र उदासीन अवस्थामा छ । र सस्तो दरमा सामान किनमेल गर्न जोगबनी नजान भन्न सक्ने अवस्था छैन ।
यस्तो अवस्थामा निजी क्षेत्रलाई उत्साहित गर्न सरकारका अर्थमन्त्री खनालले सिमानाकामा बोर्ड झुन्ड्याएर महंगो भएपनि नेपालमै सामान खरिद गर्न देशवासीलाई अनुरोध र आग्रह गरेका छन् ।