
- चिरफार डटकम, विराटनगर २६६ पटक हेरिएको
बुधबार, आश्विन २९, २०८२ समय : १४:३४:०७ , १ दिन अगाडि
निर्माण व्यवसायीले बनाइदिएको संरचनाबाट जिल्ला प्रशासन कार्यालय मोरङले बुधबारदेखि सेवा सुरु गरेको छ । निर्माण व्यवसायी संघ मोरङले जिल्ला प्रशासन कार्यालय मोरङको नयाँ संरचना निर्माण र पुराना संरचनाको मर्मत सम्भार सहित झ्याल ढोका निर्माणका लागि २० लाख रुपैयाँ खर्च गरेका छन् ।

नयाँ संरचनाबाट बुधबारदेखि राष्ट्रिय परिचय–पत्रको निर्माण कार्य सुरु भएको छ । पुरानो संरचनाबाट नागरिकता, राहदानीको काम सुरु भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बुधबार नयाँ संरचनाको उद्घाटन गरेका छन् । नयाँ संरचनाको उद्घाटन लगत्तै सेवा लिन पर्खिरहेका सर्वसाधारणलाई सेवा प्रवाहको काम सुरु भएको छ ।

निर्माण व्यवसायी संघ मोरङका अध्यक्ष महेशकुमार मिश्र नेतृत्वको निर्माण व्यवसायीको टोलीले मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई नयाँ संरचना हस्तान्तरण गरेका छन् ।
निर्माण व्यवसायी संघ मोरङका अध्यक्ष महेशकुमार मिश्रको अध्यक्षतामा आयोजित नयाँ संरचना हस्तान्तरण कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष मोहन अधिकारी, सल्लाहकार दिपक पौडेलको उपस्थिति रहेको थियो ।
जेन्जी आन्दोलनको क्रममा जिल्ला प्रशासन कार्यालय मोरङको संरचनामा तोडफोड र आगजनी भएको थियो । जसमध्ये राष्ट्रिय परिचय–पत्र शाखाको भवन पूर्णरुपमा जलेर ध्वस्त भएको थियो ।