
- ब्रह्मदेव यादव, विराटनगर १८८ पटक हेरिएको
बिहिबार, आश्विन ३०, २०८२ समय : १४:२१:५३ , १४ घन्टा अगाडि
जेन्जी आन्दोलनको क्रममा क्षतिग्रस्त भएको भौतिक संरचनाको विवरण संकलनको काम सुरु भएको छ । जेन्जी आन्दोलन घटनाको छानबिन गर्न सरकारले गठन गरेको जाँचबुझ आयोग २०८२ ले बिहीबार विराटनगरमा सरोकारवाला निकायसँग छलफल गर्दै क्षतिको विवरण माँग गरेको हो ।
जाँचबुझ आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले चाडै नै विवरण उपलब्ध गराउन सरोकारवाला निकायलाई सुझाव दिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जेन्जी आन्दोलनको क्रममा जिल्लामा घटेको घटनाको विवरण आयोगका सदस्य एवं प्रवक्ता शर्मा समक्ष प्रस्तुत गरेका थिए ।
मोरङ जिल्लामा घटेको घटनाको प्रहरीले तयार पारेको मुचुल्का विवरण सरोकारवाला निकायले मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवमार्फत नेपाल सरकारको गृह मन्त्रालयलाई उपलब्ध गराइ सकेको छ । तर आयोगका सदस्य एवं प्रवक्ता शर्माले पुनः क्षतिको विवरण सिधै आयोगमा पठाउन सरोकारवाला निकायलाई सुझाव दिएको छ ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, सुन्दरहरैंचा नगरपालिकाका मेयर केदार गुरागाईँ सहित स्थानीय तहका जनप्रतिनिधिले जेन्जी आन्दोलनको क्रममा भएको तोडफोड, लुटपाट र आगजनी घटनाको विवरण आयोगका सदस्य एवं प्रवक्ता शर्मा समक्ष प्रस्तुत गरेका थिए ।
नेकपा एमाले मोरङका उपाध्यक्ष सागर थापा र नेपाली कांग्रेस मोरङका उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष भक्तिनाथ माझीले आन्दोलनको क्रममा भएको क्षतिको विवरण आयोगसमक्ष प्रस्तुत गरेका थिए । नेकपा एमाले मोरङका उपाध्यक्ष सागर थापाले पार्टीको मोरङ जिल्ला कार्यालयमा तोडफोड र आगजनी हुँदा ५० लाख भन्दा बढी रकम बराबरको क्षति भएको विवरण आयोग समक्ष प्रस्तुत गरे ।
नेपाली कांग्रेस मोरङका उपसभापति एवं कार्यवाहक सभापति भक्तिनाथ माझीले ७० लाख भन्दा बढी रुपैयाँ बराबरको मोरङ जिल्ला पार्टी कार्यालयको भौतिक संरचना र फर्निचर सामग्रीमा क्षति पुगेको विवरण आयोग समक्ष प्रस्तुत गरेका छन् । निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष पवन सारडा, मोरङ उद्योग व्यापार संघ विराटनगरका वरिष्ठ उपाध्यक्ष अनिल साह र उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलालले जेन्जी आन्दोलनको क्रममा भएको क्षतिको विवरण आयोग समक्ष प्रस्तुत गरेका थिए ।
उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष एवं मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित होटेल नेपालीरिकाका सञ्चालक भोलेश्वर दुलालले जेन्जी आन्दोलनको क्रममा २८ करोड रुपैयाँ बराबरको होटेलमा क्षति पुगेको विवरण प्रस्तुत गरे । दुलालले १ अर्ब १२ करोड रुपैयाँ बराबरको होटेलको इन्सुरेन्स गरेको आयोग समक्ष विवरण प्रस्तुत गरेका थिए ।
दुलालको मोरङको सुन्दरहरैंचा नगरपालिका र झापाको दमकमा जग्गा सहित १ अर्ब ५२ करोड रुपैयाँको लगानीमा पाँच तारे होटेल सञ्चालन गरिरहेका छन् । जेन्जी आन्दोलनको क्रममा मोरङ जिल्लामा भएको तोडफोड र आगजनीको घटनाबाट क्षति ग्रस्त भौतिक संरचना बारे सम्बन्धित कार्यालयका प्रमुखहरूले जाँचबुझ आयोगका सदस्य एवं प्रवक्ता शर्मा समक्ष विवरण प्रस्तुत गरेका छन् ।