
- ब्रह्मदेव यादव, विराटनगर ८५७ पटक हेरिएको
आइतबार, कार्तिक ०२, २०८२ समय : १४:४५:३२ , ५ घन्टा अगाडि
नेपालमा संचालमा रहेको बहुराष्ट्रिय कम्पनी आरती स्ट्रीप्स प्रा.लि. २३ वर्षपछि फिर्ता जाँदैछ । सन् २००१ मा मोरङ जिल्लाको बुढिगंगा गाउँपालिकामा ७ सय करोड रुपैयाँको लागतमा स्थापना भएको उद्योग घाटा बेहोर्न नसक्दा नेपालबाट फिर्ता जान लागेको हो ।
सन् २००१ मा स्थापना भएको आरती स्ट्रीप्सले सन् २००२ देखि उत्पादन सुरु गरेको थियो । र उत्पादन सुरु गरेको २३ वर्षपछि उद्योगले उत्पादन बन्द गरेर फिर्ता जान लागेको हो । सादा तथा रंगिन जस्ता तथा कर्कटपाता र पाइप उत्पादन गरेर नेपाल सहित भारतमा बिक्री गरिरहेको आरती स्ट्रीप्स प्रा.लि.को निकासी भारतले रोकिदिएपछि उद्योग घाटा बेहोर्न नसकेर फिर्ता जान लागेको हो ।
उद्योगमा नेपाल र भारतका गरी हजारौँ मजदुर कार्यरत रहेका छन् । र उद्योगले भारी मात्रामा मजदुर कटौती गरिसकेका छन् । आरती स्ट्रीप्सले उत्पादन गरिरहेको ९० प्रतिशत उत्पादित सामग्री भारतमा निकासी गरिरहेका छन् । भारत सरकारको गुणस्तर प्रमाण चिन्ह प्रदान गर्ने निकाय (बि.एस.आई.) ले उत्पादन सामग्रीलाई गुणस्तर प्रमाण चिन्ह दिन आनाकानी गर्न थालेपछि उद्योग फिर्ता जाने तयारी सुरु गरेको छ ।
भारत सरकारले भारतबाट खरिद गरेको कच्चा पदार्थबाट उत्पादित सामग्रीलाई मात्रै (बि.एस.आई.) गुणस्तर प्रमाण चिन्ह प्रदान गर्ने नीति अबिलम्बन गरेका छन् । आरती स्ट्रीप्सले भारत र चिनबाट आवश्यक कच्चा सामग्री आयात गरेर नेपालमा रंगिन जस्ता तथा कर्कटपाता र पाइप उत्पादन गरिरहेका छन् । चिनबाट आयात भइरहेको कच्चा पदार्थबाट उत्पादित सामग्रीलाई भारतले (बि.एस.आई.) गुणस्तर प्रमाण चिन्ह दिन मानिरहेका छैन ।
जसका कारण २ महिनादेखि आरती स्ट्रीप्स प्रा.लि.को आयत निर्यात ठप्प छ । र उद्योगले मोटो रकम घाटा व्यहोरिरहेका छन् । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले आरती स्ट्रीप्सको आयात निर्यात ठप्प रहेको बताए । आरती स्ट्रीप्स प्रा.लि.ले उद्योगको उत्पादन बन्द गरेसँगै भारी मात्रामा मजदुर कटौती गरेका छन् । जसको जानकारी श्रम तथा रोजगार विभागलाई गराइ सकेका छन् ।
उद्योगले उत्पादन बन्द र मजदुर कटौती गरेसँगै नेपालमा रहेको लगानी फिर्ता लाने तयारी सुरु गरिसकेका छन् । र केही दिन भित्र उद्योगले मोरङ जिल्लाको बुढिगंगा गाउँपालिकामा सञ्चालनमा रहेको उद्योगको मेशिनरी सामग्रीदेखि सबै प्रकारको पार्ट पुर्जा र सामग्री लाने तयारी गरिरहेका छन् । आरती स्ट्रीप्सले आर्थिक वर्ष २०८०/०८१ मा १४ सय ५४ करोड रुपैयाँको सामग्री बिक्री गरेका थिए ।
जसमध्ये ७ सय ३७ करोड रुपैयाँको सामग्री भारतमा निकासी गरेका थिए । उद्योगले आर्थिक २०८०/०८१ मा २ हजार करोड रुपैयाँको सामग्री बिक्री गर्ने लक्ष्य राखेको थियो । उद्योगले मोटो रकम रकम लगानी गरेर दण्डी उद्योग सञ्चालन गर्ने तयारी गरेको थियो । नेपाल सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि उद्योग मैत्री बजेट निर्माण गर्न नसक्दा उद्योग दण्डी उत्पादन गर्नबाट पछि हटेको थियो ।