संजित भगतको अवैध कारोबारबारे अनुसन्धान सुरु

  • ब्रह्मदेव यादव, विराटनगर ८३१  पटक हेरिएको

बिहिबार, कार्तिक १३, २०८२ समय : १५:५०:४७ , ६ महिना अगाडि

विराटनगर भन्सार कार्यालयबाट साफटा सुविधाको चरम दुरुपयोग गरेर अवैध कारोबार गरिरहेका संजित भगत माथि अनुसन्धान सुरु भएको छ । भगतको व्यापारिक प्रतिष्ठान स्वस्तिका ट्रेड एण्ड सप्लायर्स र सोहम ट्रेडर्स विराटनगर–११ लाई अनुसन्धानको दायरामा ल्याइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण आयोग, प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, नेपाल सरकारको सुरक्षा निकाय केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) र राजस्व अनुसन्धान विभागले एक साथ भगतको अवैध कपडा कारोबार बारे अनुसन्धान सुरु गरेका हुन् ।

विराटनगर भन्सार कार्यालयबाट साफटा सुविधाको चरम दुरुपयोग गरेर कृतिम कागजात तयार पारेर भातबाट नेपालमा कपडा आयात गर्दा मोटो रकम राजश्व चुहावट भइरहेको विषयलाई लिएर केही कपडा कारोबारीले भगतको अवैध कारोबार बारे सम्बन्धित निकायमा उजुरी गरेका थिए ।

नेपाल र भारत बिच भएको सम्झौता अनुसार भारतबाट नेपालमा कपडा आयात गर्दा ८५ प्रतिशत कटनका कपडामा साफटा सुविधाको व्यवस्था छ । ८५ प्रतिशत भन्दा तलको मापदण्डमा भएका कपडामा साफटा सुविधाको व्यवस्था छैन । तर भगतले ६७ र ६८ प्रतिशत मापदण्ड तय गरिएको कटनको सटिङ सुटिङ र सुतिको कपडालाई ८५ प्रतिशत कटनको कपडा भएको कृतिम कागजात तयार पारेर साफटा सुविधा मार्फत जाँच पास गराएर कपडा नेपाल भित्र्याउने गरेका छन् ।

भगतले यसरी कपडा नेपाल भित्र्याउँदा सरकारले प्राप्त गर्नुपर्ने मोटो रकम राजश्व चुहावट भइरहेको छ । र यस विषयलाई तत्काल रोक्नु पर्ने माँग सहित सम्बन्धित सरकारी निकायमा उजुरी परेका हुन् । र जुन उजुरी माथि छानबिन सुरु भएको हो । भारतबाट नेपालमा कपडा भित्र्याउँदा १५ प्रतिशत भन्सार राजश्व र १३ प्रतिशत भ्याट कर लाग्ने व्यवस्था छ । तर साफटा सुविधा मार्फत भारतबाट नेपालमा कपडा भित्र्याउँदा १० प्रतिशत भन्सार राजश्वमा छुटको व्यवस्था छ ।

१५ प्रतिशत भन्सार राजश्व तिर्नुपर्ने ठाउँमा भगतले साफटा सुविधा मार्फत ५ प्रतिशत भन्सार राजश्व तिरेर कपडा भित्र्याउँदा अन्य कपडा व्यवसायीले भित्र्याएको कपडा भन्दा भगतले भित्र्याएको कपडा सस्तो पर्छ । र भगतले बजारको चलनचल्ती मूल्य भन्दा कम मूल्यमा कपडा बिक्री गर्दा अन्य कपडा कारोबारी पलायनको अवस्थामा छ ।

भगतले लामो समयदेखि जस्तो सुकै महंगो ब्राण्डको कपडालाई साफटा सुविधा मार्फत नेपाल भित्र्याउँदा एक तर्फ सरकारी राजश्वको चुहावट भइरहेको छ भने अर्को तर्फ भगत मालामाल भएको छ । जसको कारण छोटो समयको अवधिमा भगतको सम्पत्ति १० गुणाले बढेको छ ।