मारवाडी महिलाले वृद्धाश्रमका आमासँग मनाए देव-दिवाली

  • ब्रह्मदेव यादव, विराटनगर ७११  पटक हेरिएको

आइतबार, कार्तिक १६, २०८२ समय : १७:४६:१९ , २४ घन्टा अगाडि

विराटनगरका मारवाडी महिलाहरूले महिला जागृति तथा वृद्धाश्रमका आमाहरू सँग आइतबार देव-दिवाली मनाएका छन् । देव-दिवालीको अवसरमा मारवाडी महिला मञ्च विराटनगरका महिलाहरूले विराटनगर महानगरपालिकासँग सिमाना जोडिएको बुढीगंगा गाउँपालिकाको वडा नम्बर १ पुष्पलाल चौक स्थित महिला जागृति तथा वृद्धाश्रममा पुगेर आश्रममा आश्रित आमाहरू सँग देव-दिवाली मनाएका हुन् ।

मारवाडी महिला मञ्च विराटनगरका अध्यक्ष सरिता लालवानीले वर्षमा १ दिन भए पनि आश्रममा आश्रित आमाहरू सँग खुसीयाली साटासाट गर्ने उद्देश्यका साथ देव-दिवाली मनाएको बताए ।

मारवाडी महिला मञ्च विराटनगरका अध्यक्ष सरिता लालवानी, सल्लाहकार किरण अग्रवाल, सचिव बिन्दु अटल, सह–सचिव सञ्जु बाहेती, कोषाध्यक्ष निलम लौढा, कार्यक्रम संयोजिका सरला लालवानी, युवती मञ्चका संयोजिका प्रियंका राठी सहित मञ्चका सदस्यहरू घरमै पकाएर लगेका मिष्टान्न परिकार वृद्धाश्रमका आमाहरूलाई खुवाएका थिए ।

आश्रममा रहेका १० जना आमाहरूलाई मारवाडी महिला मञ्चका पदाधिकारीहरूले उपहार समेत प्रदान गरेका थिए । मारवाडी महिला मञ्चका पदाधिकारी, सल्लाहकार र सदस्यहरूले वृद्धाश्रम नजिकै रहेको रामजानकी मन्दिरमा दिप प्रज्वलन गरेका थिए । महिलाहरूले वृद्धाश्रममा रंगोली बनाएर पटका पड्काउँदै नाचगान समेत गरेका थिए ।