- ब्रह्मदेव यादव, विराटनगर ४९८ पटक हेरिएको
बुधबार, कार्तिक २६, २०८२ समय : १६:११:३० , ५ महिना अगाडि
विराटनगर महानगरपालिकामा सञ्चालनमा रहेको एक सरकारी विद्यालयको कम्प्यूटर र ल्यापटप झोलामा बाँधेर राखिएको अवस्थामा भेटिएको छ । विराटनगर महानगरपालिकाले बुधबार छानबिन गर्दा वडा नं. १८ स्थित श्री जनक माध्यमिक विद्यालयको कम्प्यूटर र ल्यापटप झोलामा बाँधेर राखिएको अवस्थामा फेला परेको हो ।
विराटनगर महानगरपालिका शिक्षा महाशाखा प्रमुख रामप्रसाद ढुंगेल र विराटनगर महानगरपालिका वडा नं. १८ का वडाध्यक्ष जितेन्द्रप्रसाद साहको टोलीले वडा नं. १८ मा रहेको श्री जनक माध्यमिक विद्यालयको छानबिन गर्ने क्रममा प्रयोग विहीन अवस्थामा रहेको ५ थान ल्यापटप र केही थान कम्प्यूटर झोलामा बाँधेर राखिएको अवस्थामा फेला परेका थिए ।
स्थानीय जननिर्वाचित प्रतिनिधिले दिएको उजुरीको आधारमा विराटनगर महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख ढुंगेल नेतृत्वको टोलीले विद्यालयमा भइरहेको गतिविधि बारे छानबिन सुरु गरेका छन् । विद्यालयका प्रधानाध्यापक रामाकान्त झाले भवन अभावको कारण कम्प्यूटर ल्याब सञ्चालन गर्न नसकेको बताए ।
कम्प्यूटर र ल्यापटपलाई सुरक्षित राख्नको लागि झोलामा बाँधेर राखिएको उनले बताए । विराटनगर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख ढुंगेलले विराटनगर–१८ मा रहेको श्री जनक माध्यमिक विद्यालयको अनियमितताबारे छानबिन गर्न परेको उजुरीको आधारमा छानबिन गर्न गएको र छानबिन गरेर फर्किएको बताए ।