- ब्रह्मदेव यादव, विराटनगर ५७० पटक हेरिएको
शुक्रबार, पुष ११, २०८२ समय : १६:३५:५५ , ४ महिना अगाडि
विराटनगरमा सञ्चालन भइरहेको विराट ट्रेड एक्स्पोमा माङपाहाङ लावती कृषि उद्योग पाँचथरको उत्पादन सामग्री बिक्री वितरण भइरहेका छन् ।
उद्योगबाट उत्पादन भइरहेको किवी फललाई प्रशोधन गरेर उत्पादन गरिएको एक दर्जन भन्दा बढी सामग्री विराट ट्रेड एक्स्पोको स्टलबाट बिक्री भइरहेका छन् ।
किवीको फललाई प्रशोधन गरेर बनाइएको किवीको जुस, किवीको स्क्वास, किवीको सोमरस (वाइन), किवीको तुलफुल, लालीगुराँस जुस, लालीगुराँस स्क्वास, किवीको मिक्स अचार, किवीको पेस्ट अचार, किवीको जाम, अकबरे खुर्सानी, अकबरे खुर्सानीको अचार लगायतका उत्पादित सामग्री विराट ट्रेड एक्स्पोको स्टलबाट बिक्री भइरहेको उद्योगका सञ्चालीक जुनु लावतीले बताइन ।
बलिन्द्रकुमार राई र जुनु लावती (श्रीमान्/श्रीमती) ले पाँचथर जिल्लाको मिक्लाजुङ–१ मा डेढ करोड रुपैयाँको लगानीमा पहाडको ४५ रोपनी तथा तराई मधेसको ३ बिग्घा क्षेत्रफल जग्गामा स्थापना गरेका माङपाहाङ लावती कृषि उद्योगले उत्पादन गरिरहेको उत्पादित सामग्री कोशी प्रदेशको पाँचथर, इलाम, ताप्लेजुङ, झापा, मोरङ र सुनसरीमा ब्राण्डको रूपमा स्थापित भएको छ ।
उद्योगका सञ्चालीका जुनु लावतीले नेपाली बजारमा नेपाली उपभोक्ताहरूको जिब्रोसम्म स्वाद पुर्याउने उद्देश्यका साथ अगाडी बढेको बताइन ।
कोशी प्रदेश सहित नेपाल अधिराज्य भर लाग्ने गरेको एक्स्पो, मेला र महोत्सवमा माङपाहाङ लावती कृषि उद्योगको उत्पादन बिक्री हुने गरेका छन् । उद्योगबाट उत्पादन भइरहेको सामग्री प्रचार–प्रसारको चरणमा रहेकोले नाफाको हिसाब किताब नरहेको सञ्चालिका लावतीले बताइन ।
बलिन्द्रकुमार राईले १२ वर्षसम्म विदेशमा बिक्री गरेको श्रमबापत प्राप्त गरेको रकमले पाँचथरमा माङपाहाङ लावती कृषि उद्योग स्थापना गरेका थिए ।