- चिरफार डटकम, विराटनगर ५१७ पटक हेरिएको
शुक्रबार, पुष १८, २०८२ समय : १४:४४:१९ , २ महिना अगाडि
विराटनगरमा सञ्चालन भइरहेको विराट ट्रेड एक्स्पोमा अपेक्षा भन्दा बढी कारोबार भएको छ । निजी क्षेत्रको सबैभन्दा पुरानो संस्था मोरङ उद्योग व्यापार संघले विराटनगरमा विराट ट्रेड एक्स्पोको आयोजना गरेका हुन् ।
पुस ९ गतेदेखि सुरु भएको विराट ट्रेड एक्स्पोको १९ गते शनिबार समापन हुदैछ । मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले विराट ट्रेड एक्स्पोमा ५५ करोड भन्दा बढी रकम बराबरको कारोबार भएको बताए ।

अटो मोबाइल्स सेक्टर र औद्योगिक क्षेत्रको सोलार पावर कम्पनीले सबै भन्दा बढी कारोबार गरेको अध्यक्ष राठीले बताए । अटो मोबाइल्स सेक्टर र औद्योगिक सोलार पावर मात्रै नभई विराट ट्रेड एक्स्पोमा रहेको सबै स्टलले सन्तोषजनक रूपमा कारोबार गरेको अध्यक्ष राठीले बताए ।
पुस ९ देखि १८ गतेसम्म १ लाख ५० हजार भन्दा बढी दर्शकले विराट ट्रेड एक्स्पोको अवलोकन गरेको अध्यक्ष राठीलेब बताए । सङ्घीय सरकारका पर्यटन, कानुन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल सिन्हा शनिबार विराट ट्रेड एक्स्पो समापन समारोहको प्रमुख अतिथि रहेका छन् ।
पुस ९ गते सङ्घीय सरकारका अर्थमन्त्री रामेश्वर खनालले विराट ट्रेड एक्स्पोको उद्घाटन गरेका थिए । मोरङ उद्योग व्यापार संघले विराट ट्रेड एक्स्पोको दुई चरणमा समापन समारोह आयोजना गर्ने तयारी गरेको छ ।