प्रतिनिधि सभा निर्वाचनको बेला ७२ घण्टा जोगबनी नाका बन्द

  • ब्रह्मदेव यादव, विराटनगर ३२४  पटक हेरिएको

सोमबार, माघ २६, २०८२ समय : १४:५०:५३ , ७ दिन अगाडि

२०८२ साल फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनको समयमा ७२ घण्टाका लागि नेपाल भारतको अन्तर्राष्ट्रिय सिमाना जोगबनी नाका बन्द रहने मोरङ प्रशासनले जानकारी गराएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले सोमबार विराटनगरमा आसन्न प्रतिनिधि सभा निर्वाचनबारे सञ्चारकर्मीहरू सँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा ७२ घण्टाका लागि जोगबनी नाका बन्द रहने जानकारी गराए ।

फागुन २१ गते बिहीबार प्रतिनिधि सभाको निर्वाचन हुने भएकोले निर्वाचन सुरु हुन भन्दा अगाडी र निर्वाचन नसकुन्जेल सम्मका लागि ७२ घण्टासम्म जोगबनी नाका बन्द रहने विषयमा आगामी साता भारती सुरक्षाकर्मीसँग छलफलको मिति तय भएको प्रजिअ कट्टेलले बताए ।

भारतमा लोकसभा र राजसभाको निर्वाचन हुँदा ७२ घण्टाका लागि जोगबनी नाका बन्द गरिन्छ । ठिक त्यसै गरी नेपालमा प्रतिनिधि सभा निर्वाचनको समयमा ७२ घण्टाका लागि जोगबनी नाका बन्द गर्न लागिएको हो ।

निर्वाचनको दिन विराटनगर भन्सार कार्यालय बन्द रहने यस अघि नै सङ्घीय सरकारले निर्णय गरिसकेको प्रजिअ कट्टेलले बताए ।निर्वाचनको बेला नेपालबाट भारत र भारतबाट नेपाल आउने जाने सवारी साधनामा पूर्णरुपमा बन्द रहने  छ ।

मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर जिल्लामा ३१ वटा प्वाईट मार्फत चेक जाँच भइरहेको बताए ।

गुण्डाका नाइके, अपराधी प्रवृत्तिका व्यक्ति र जेन्जी आन्दोलनको क्रममा जेलबाट फरार भएका कैदीबन्दी माथि कडा निगरानी बढाइएको एसपी कटवालले बताए ।

कोशी प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख निर्वाचन अधिकारी चोलाराज दंगाल र मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले आसन्न प्रतिनिधि सभा निर्वाचनको बेला सञ्चार क्षेत्रबाट आचारसंहिता उलंघनको काम भइरहेकोले यसलाई कडाइका साथ पालना गर्न सुझाव दिए ।

साथै राजनीतिक दलका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवारहरूले गरिरहेको आचारसंहिता उलंघनको बारेमा आ–आफ्ना सञ्चारमाध्यमबाट सत्यतथ्य बाहिर ल्याउन सुझाव दिए । राष्ट्रिय अनुसन्धान कार्यालय मोरङका प्रमुख एसपी राजन शर्मा सापकोटाको उपस्थिति रहेको थियो ।