- ब्रह्मदेव यादव, विराटनगर ४०९ पटक हेरिएको
बुधबार, माघ २८, २०८२ समय : १४:०५:२७ , ५ दिन अगाडि
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतको कार्यकालको समय अवधि बढेको छ । नेपाल उद्योग वाणिज्य महासंघको चैत २८ र २९ गते केन्द्रीय महाधिवेशन गर्ने मिति तय भएको छ । महासंघको केन्द्रीय महाधिवेशन गर्नु भन्दा १ महिना अगाडी नै प्रदेश अधिवेशन गरिसक्नु पर्ने प्रावधान छ ।
जस अनुसार नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिले माघ २९ गते बिहीबारका लागि तोकिएको निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यतालिका अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरेको छ ।
फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागु गरिसकेको अवस्थामा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले अधिवेशनको पूर्वसन्ध्यामा जारी गरेको निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यतालिका स्थगन गरेको हो ।
प्रतिनिधि सभाको निर्वाचनपछि नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको बस्ने कार्यसमितिको बैठकले पुनः निर्वाचन सम्बन्धी कार्यतालिका जारी गर्ने विषयमा निर्णय गर्नेछ । त्यतिजेलसम्मका लागि राजेन्द्र राउत नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको अध्यक्षको रूपमा काम गर्न पाउने छ ।
अध्यक्ष राजेन्द्र राउत नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने तयारी गरिरहेको बेला महासंघ कोशी प्रदेश समिति अन्तर्गत जिल्ला, नगर, उद्योग वाणिज्य संघका अध्यक्ष सहित बस्तुगत तर्फका सदस्यहरूले राजेन्द्र राउतलाई दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा निरन्तरता दिन दबाब दिएका छन् ।
मोरङको बुढीगंगा गाउँपालिकामा ४ करोड रुपैयाँको लागतमा महासंघ कोशी प्रदेश समितिको अढाई तल्ले सुविधा सम्पन्न भवनको निर्माण कार्य जारी छ । अध्यक्ष राउतको कार्यकालमा भवनको निर्माण कार्य सुरु भएको हो । र भवनको निर्माण कार्य पुरा नभएसम्म राउतलाई नै अध्यक्ष पदमा निरन्तरता दिन दबाब बढेको हो ।
महासंघको कोशी प्रदेशका जिल्ला, नगर, उद्योग वाणिज्य संघका अध्यक्ष तथा वस्तुगत तर्फका सदस्यहरूको दबाब थेक्न नसकेर अध्यक्ष राजेन्द्र राउतले पुनः अध्यक्ष पदमा उम्मेदवारी दिने टुङ्गो लागेको छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष नविन रिजाल राजेन्द्र राउतसँग अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्न लागेकाे हाे।