- ब्रह्मदेव यादव, विराटनगर २७५ पटक हेरिएको
बिहिबार, माघ २९, २०८२ समय : १६:०५:१७ , ४ दिन अगाडि
कोशी प्रदेश सरकारले लगानी सम्मेलनको उपलब्धि र प्रक्रियागत पक्षबारे बिहीबार विराटनगरमा सरोकारवाला निकायसँग छलफल गरेका छन् । कोशी प्रदेश सरकारले २०८२ वैशाख १८ र १९ गते विराटनगरमा पहिलो लगानी सम्मेलनको आयोजना गरेका थिए ।
जुन सम्मेलनमा १ खर्ब भन्दा बढी रुपैयाँ बराबरको लगानी भित्र्याउने समझदारी पत्रमा हस्ताक्षर भएको थियो । कोशी प्रदेश सरकारले छैठौं वार्षिकोत्सवको अवसर पारेर लगानी सम्मेलनको उपलब्धि र प्रक्रियागत पक्षबारे सरोकारवाला निकायसँग छलफल कार्यक्रम गरेको हो ।

कोशी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद रिसालले कोशी प्रदेश लगानी सम्मेलन २०८२ मा परियोजना विकासका लागि समझदारी गरिएका लगानी कर्ता एवं विकास कर्ताको साथै सरोकारवाला पक्षसँग सम्मेलनको उपलब्धि र प्रक्रियागत पक्षबारे छलफल गर्न अन्तरक्रिया कार्यक्रम आयोजना गरेको बताए ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीका आर्थिक सल्लाहकार डा. मोहन सुवेदीले लगानी सम्मेलनमा छनौट भएको परियोजना, लगानी रकम र लगानी सम्मेलनको उपलब्धि बारे जानकारी गराएका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष एवं संविधान सभा सदस्य पवन सारडा, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिला साह र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अभिनाश बोहरा सहित बाक्लो संख्यामा निजी क्षेत्रको सहभागिता रहेको थियो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लगानी सम्मेलनको उपलब्धि र प्रक्रियागत पक्षबारे आयोजित अन्र्तक्रिया कार्यक्रमको उद्घाटन गरेका थिए । कोशी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय विराटनगरले लगानी सम्मेलनबारे प्रकाशन गरेको कोशी दर्पण विशेषाङ्क पुस्तकको विमोचन गरेका थिए ।