निर्वाचनको मुखमा सीमा नाका खुकुलो  

  • ब्रह्मदेव यादव, विराटनगर ४२०  पटक हेरिएको

बुधबार, फाल्गुण १३, २०८२ समय : १८:३५:२० , २ महिना अगाडि

फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको मुखमा भारतसँग सिमाना जोडिएको रानी नाका खुकुलो भएको छ ।

पछिल्लो समय नेपाल प्रहरीको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले रानी नाकामा सादा पोसाकमा १५ जना प्रहरीलाई घुमुवाको रूपमा परिचालन गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङ र मोरङ मातहत रहेको प्रहरी कार्यालयले परिचालन गरेको घुमुवा प्रहरीलाई फिर्ता बोलाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको घुमुवा प्रहरी हावी भएपछि जिल्ला प्रहरी कार्यालय मोरङ र मोरङ मातहत रहेको प्रहरी कार्यालयले घुमुवा प्रहरी फिर्ता बोलाएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी विनोद घिमिरेले सहायक हवलदार राजेश यादवको नेतृत्वमा १५ जना घुमुवा प्रहरी रानी नाकामा परिचालन गरेका छन् ।

अन्य प्रहरी कार्यालयको घुमुवालाई विस्थापित गरेर कोशी प्रदेश प्रहरी कार्यालयले रानी नाकामा परिचालन गरेको घुमुवाले निर्वाचनको मुखमा तस्कर गिरोह सँग साठगाठ गरेर अवैध तस्करीलाई प्रोत्साहन गरिरहेका छन् ।

तस्कर गिरोहले प्रहरीको सेटिङमा विराटनगर महानगरपालिकासँग सिमाना जोडिएको रानी नाका सहित दरैया, मटेरवा, इस्लामपुर, बुधनगर, भेडियारीबाट मोटो परिमाणमा उच्च भन्सार राजश्व तिर्नुपर्ने सामान भारतबाट नेपाल तर्फ भित्र्याइरहेका छन् ।

भारतको तुलनामा नेपालमा कुखुराको मासु महँगो छ । तस्कर गिरोहले भारतबाट ठुलो परिमाणमा बोइलर कुखुरा नेपाल भित्र्याइ रहेका छन् । जसको कारण राज्यले प्राप्त गर्नुपर्ने मोटो रकम राजश्व चुहावट भइरहेको छ । जुन चुहावट कार्यमा नेपाल प्रहरीको संलग्नता रहेको छ ।

समाचारको पुष्टि गर्न कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख डिआइजी विनोद घिमिरेसँग पटक–पटक सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन ।