- ब्रह्मदेव यादव, विराटनगर ११८८ पटक हेरिएको
शुक्रबार, फाल्गुण २२, २०८२ समय : १७:४७:०६ , २ महिना अगाडि
प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसँग जनताको भोट बिक्री गर्ने ठेकेदारहरू बेपत्ता भएका छन् ।
प्रमुख राजनीतिक दलका उम्मेदवारसँग मोटो रकम बुझेका ठेकेदार बोलकबोल गरे बमोजिम भोट ट्रान्सफर गर्न नसक्दा मोबाइलको स्वीच-अफ गरेर बेपत्ता भएका छन् ।

प्रमुख राजनीतिक दलमा आबद्ध ठेकेदारले उम्मेदवारसँग मोटो रकम लिएर जनताको भोट बिक्री गरेका थिए । बोलकबोल गरे बमोजिम जनताको भोट पार्टीका उम्मेदवारलाई ट्रान्सफर गर्न नसक्दा तनावमा रहेका ठेकेदार बेपत्ता भएको समाचार सूत्रले जानकारी गराएको छ ।
दिएको रकम बराबरको भोट नपाउँदा उम्मेदवारले ठेकेदारसँग रकम फिर्ता माग्दा उनीहरू बेपत्ता भएका हुन । नेपाली कांग्रेस कोशी प्रदेश समितिका कोषाध्यक्ष राजेश गुप्ता र कांग्रेस युवा नेता रञ्जितकुमार झाले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै ठेकेदारलाई रकम फिर्ता गर्न सुझाव दिएका छन् ।
रकम फिर्ता नगरेको खण्डमा सामाजिक सञ्जालमा नाम सार्वजनिक गरिदिने स्ट्याटस पछि ठेकेदार बेपत्ता भएको अवस्था छ । ठेकेदारले उम्मेदवारसँग १ भोट बापत न्यूनतम २ देखि २० हजारसम्म रुपैयाँ असुली गरेका थिए ।
उम्मेदवारसँग यसरी असुली गरिएको मोटो रकम ठेकेदारले मतदाता समक्ष पुर्याएकी पुर्याएन यो पनि खोजीको विषय बनेको छ ।