चुनाव नलड्ने गच्छदारको घोषणा

  • ब्रह्मदेव यादव, विराटनगर ३७७  पटक हेरिएको

बुधबार, फाल्गुण २७, २०८२ समय : १४:३७:५५ , २ महिना अगाडि

नेपाली कांग्रेसका वरिष्ठ नेता विजयकुमार गच्छदारले अब प्रत्यक्ष तर्फ प्रतिनिधिसभा सदस्य पदका लागि चुनाव नलड्ने घोषणा गरेका छन् ।

कांग्रेसका वरिष्ठ नेता गच्छदार लगातार २ पटक सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं. ३ बाट पराजित भएका छन् । २०७९ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेकपा एमालेका महिला नेतृ भगवती चौधरीसँग गच्छदार पराजित भएका थिए । २०८२ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा गच्छदार राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता अशोक चौधरीसँग पराजित भएका छन् ।

चिरफार डटकमसँग कुरा गर्दै कांग्रेस नेता गच्छदारले अब प्रत्यक्ष तर्फ प्रतिनिधिसभा सदस्य पदका लागि चुनाव नलड्ने घोषणा गरेका छन् ।

१२ पटक सङ्घीय सरकारमा मन्त्री भइसकेका गच्छदार लगातार २ पटक प्रतिनिधिसभा सदस्यमा पराजित भएसँगै प्रत्यक्ष तर्फ चुनाव नलड्ने घोषणा गरेका छन् ।

लामो समयसम्म नेपाली कांग्रेसमा रहेर राजनीति गरेका गच्छदार २०६२/०६३ को मधेस विद्रोहपछि २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा कांग्रेसबाट विद्रोह गरेर उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी नेपाल (तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल) बाट चुनाव लडेका थिए ।

मोरङ र सुनसरीबाट एक साथ पहिलो संविधान सभामा जित निकालेका गच्छदार पछिल्लो समय मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) नामको बेग्लै पार्टी गठन गरेर राजनीतिकमा सक्रिय भएका थिए ।

सो अवधिमा नेपालमा गठन भएको सबै सरकारमा गच्छदार मन्त्री भएका थिए । पछि पुनः पार्टीलाई कांग्रेसमा बिलय गरेका गच्छदार लगातार २ पटक सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका छन् ।