३९औं गणगौर पूजा महोत्सव हुँदै

  • चिरफार डटकम, विराटनगर १७०  पटक हेरिएको

मंगलबार, चैत्र ०३, २०८२ समय : १८:०४:२२ , १७ घन्टा अगाडि

बुधबार विराटनगरमा ३९औं गणगौर पूजा महोत्सव हुँदै छ । नेपाल राष्ट्रिय मारवाडी गणगौर पूजा समितिले ३९औं गणगौर पूजा महोत्सव २०८२ को आयोजना गर्न लागेको हो ।

बुधबार दिनको ४ बजेदेखि विराटनगरको मेनरोड स्थित अतिथि सदनमा ३९औं गणगौर पूजा महोत्सव सुरु हुनेछ । विराटनगरका मारवाडी महिलाले मनाउने गणगौर पूजा ठुलो महोत्सव हो ।

विवाहित महिलाले सफल दाम्पत्य जीवनका लागि र अविवाहित महिलाले राम्रो श्रीमान् पाउनको लागि गणगौर पूजा गर्ने प्रचलन रहेको छ ।

कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीको प्रमुख आतिथ्यतामा आयोजना हुन लागेको गणगौर पूजा महोत्सवमा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याइरहेका महिलालाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

३९औं गणगौर पूजा महोत्सवका अध्यक्ष ललिता जाजुले चिकित्सक, कला सांस्कृतिक, योग क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याइरहेका महिलालाई सम्मान गर्न लागेको बताए ।

गणगौर पूजा समितिका निवर्तमान अध्यक्ष एवं उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले गणगौर पूजा महोत्सवमा सबै क्षेत्र तह र तप्काका विशिष्ट व्यक्तिहरूको सहभागिता रहने बताए ।