“चैत ७ गते शनिबार घर बाहिर ननिस्कनु”

  • चिरफार डटकम, विराटनगर ४३५  पटक हेरिएको

शुक्रबार, चैत्र ०६, २०८२ समय : १६:५०:४० , १८ घन्टा अगाडि

जिल्ला प्रशासन कार्यालय मोरङले शनिबार मौसम परिवर्तन भई हावाहुरी चल्ने भएकोले घर बाहिर ननिस्कन जिल्लावासीलाई आग्रह गरेका छन् ।

विराटनगर महानगरपालिका हावाहुरीको केन्द्र बिन्दु रहने जल तथा मौसम विभागले आकलन गरेको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले शुक्रबार विज्ञप्ति जारी गरेर चैत ७ गते शनिबार घरमै बसेर सतर्कता अपनाउन जिल्लावासीलाई आग्रह गरेका छन् ।

काम विशेषले घर बाहिर निस्कनु परेमा तीव्र गतिमा हावाहुरी चल्न थालेपछि सुरक्षित स्थानमा बसेर सतर्कता अपनाउन सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले आग्रह गरेका छन् ।

हावाहुरी चल्न थालेपछि कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनी नबस्न सर्वसाधारणलाई आग्रह गरेका छन् । हावाहुरीको समयमा लत्रिएको विद्युतीय तार नछुन सबैलाई आग्रह गरेका छन् ।

जल तथा मौसम विभागले जारी गरेको ३ दिनको मौसम पूर्वानुमान अनुसार २०८२ चैत ७ गते शनिबार विराटनगर सहित मोरङ जिल्ला भरी प्रति घण्टा ११९ किलोमिटरको गतिमा हावाहुरी चल्ने र तीव्र गतिमा चल्ने हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना ढल्ने, टिनको घरको छाना उढाउने, विद्युत तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहने भएकोले घरमै बसेर सतर्कता अपनाउन मोरङ प्रशासनले जिल्लावासीलाई आग्रह गरेका छन् ।