- ब्रह्मदेव यादव, विराटनगर ५९५ पटक हेरिएको
आइतबार, चैत्र १५, २०८२ समय : १४:५८:५५ , २ महिना अगाडि
नयाँ घर निर्माणको तयारीमा रहेका विराटनगरवासीले चासोका साथ घर निर्माण प्रदर्शनीको अवलोकन गरिरहेका छन् । विराटनगरको निजी क्षेत्रले आयोजना गरेको घर निर्माण प्रदर्शनीको सबै भन्दा बढी निजी क्षेत्रका व्यक्तिहरूले चासोका साथ घर निर्माण प्रदर्शनीको अवलोकन गरेका छन् । र घर निर्माण प्रदर्शनीको निरन्तर अवलोकन गर्ने क्रम जारी छ ।
उद्योग संगठन मोरङले काठमाडौँ बाहिर पहिलो पटक कोशी प्रदेशको राजधानी विराटनगरमा घर निर्माण प्रदर्शनीको आयोजना गरेका छन् । घर निर्माण सम्बन्धी सम्पूर्ण जानकारी एउटै थलोबाट जानकारी गराउने उद्देश्यका साथ उद्योग संगठन मोरङले घर निर्माण प्रदर्शनीको आयोजना गरेको हो ।

जुन घर निर्माण प्रदर्शनीको अवलोकन गर्दा कुनै किसिमको शुल्क लाग्दैन । विराटनगरस्थित जैन भवनको प्राङ्गणमा चैत १२ गतेदेखि सुरु भएको घर निर्माण प्रदर्शनीको चैत १६ गते सोमबार समापन हुने कार्यक्रम रहेको छ ।
घर निर्माण सम्बन्धी सामग्री उत्पादन गरिरहेको स्वदेशी उद्योगको प्रवर्द्धन र सिथिल रहेको बजारलाई चलायमान बनाउन घर निर्माण प्रदर्शनीको आयोजना गरेको आयोजक संस्था उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले बताए ।
अध्यक्ष राठीले उपाध्यक्ष सुरेन्द्र गोल्छालाई संयोजक बनाएर आयोजना गरेको घर निर्माण प्रदर्शनीमा उद्योग तथा व्यावसायिक क्षेत्रका ७५ वटा स्टल रहेका छन् । घर निर्माणका लागि आवश्यक सामग्री उत्पादन गरिरहेको उद्योग तथा व्यावसायिक क्षेत्रको स्टलको अवलोकन गर्न सर्वसाधारणहरुले चासो देखाएका छन् ।

विराटनगरका वरिष्ठ समाजसेवी दिनबन्धु गोयलले आइतबार घर निर्माण प्रदर्शनीप्रति चासो देखाउँदै अवलोकन गरेका छन् । गोयल मात्र होइन निजी क्षेत्रका चर्चित उद्योगी एवं व्यवसायी सहित विराटनगरवासीले घर निर्माण प्रदर्शनीको अवलोकन गरेर घर निर्माणका लागि चाहिने गुणस्तर सामग्रीबारे जानकारी लिइरहेका छन् ।
घर निर्माण प्रदर्शनीसँगै उद्योग संगठन मोरङले घर निर्माणका बारेमा उपभोक्तालाई विस्तृत रूपमा जानकारी गराउने उद्देश्यका साथ थिमेटिक सेसन सञ्चालन गरिरहेका छन् । आइतबार स्मार्ट होम र आधुनिक जीवनशैली अन्तर्गत ३ वटा विषयमा थिमेटिक सेसन सञ्चालन भएको थियो ।
विद्युतीय सुरक्षा र ऊर्जा दक्षताका बारेमा वसन्त ओझा, इन्टेरियर डिजाइन अवधारणा, स्पेस प्लानिङ, उपयोगिता र सौन्दर्यको बारेमा नितेश लोहिया र दिगो आवासका लागि सोलार घरका बारेमा अपार न्यौपानेले उपभोक्तालाई जानकारी गराएका थिए ।