घर निर्माण प्रदर्शनीमा ५ स्टललाई एक्सिलेन्स अवार्ड

  • ब्रह्मदेव यादव, विराटनगर ३८६  पटक हेरिएको

सोमबार, चैत्र १६, २०८२ समय : १७:५२:४९ , ४ घन्टा अगाडि

उद्योग संगठन मोरङले घर निर्माण प्रदर्शनी २०८२ मा ५ स्टललाई एक्सिलेन्स अवार्ड प्रदान गरेको छ । उद्योग संगठन मोरङले विराटनगरमा आयोजना गरेको घर निर्माण प्रदर्शनीको समापन समारोहमा सोमबार विभिन्न माध्यमबाट छनौट भएका ५ स्टललाई उत्कृष्ट स्टल घोषणा गर्दै एक्सिलेन्स अवार्ड प्रदान गरिएको हो ।

सम्भावना युक्त नयाँ व्यवसायी स्टार्टअप तर्फ हनुमन्ता रर्ग्स प्रा.लि., उत्कृष्ट स्टल डिजाइन तथा सजावट तर्फ मार्वल टेक्नोप्लास्ट प्रा.लि., नविन तथा अन्तरक्रियात्मक उत्पादन प्रस्तुति तर्फ विन्डोर सलुसन, दर्शकसँग उत्कृष्ट अन्तर्क्रिया र संलग्नता तर्फ सी.पी. मार्वल्स र दिगो अभ्यास तथा स्थानीय मूल्य योगदान तर्फ बेम्बो आर्किड चेक्चरल सलुसनलाई एक्सिलेन्स अवार्ड प्रदान गरिएको हो ।

उद्योग संगठन मोरङले चैत्र १२ देखि १६ गतेसम्म काठमाडौँ बाहिर पहिलो पटक कोशी प्रदेशको राजधानी विराटनगरको जैन भवनको प्राङ्गणमा घर निर्माण प्रदर्शनीको आयोजना गरेका थिए । घर निर्माण प्रदर्शनीमा ८० भन्दा बढी उद्योगी स्टल रहेका थिए ।

ती मध्ये उपभोक्ताले गरेको अवलोकन र सामाजिक सञ्जाल सहित विभिन्न माध्यमबाट गरेको भोटिङको आधारमा ५ स्टल उत्कृष्ट स्टलमा पर्न सफल भएको थिए । जसको छिनोफानो उद्योग संगठन मोरङका कार्यसमिति सदस्य किरण व्यासको संयोजकमा गठन भएको कार्यदलको निर्णायक समितिले गरेको थियो ।

घर निर्माण प्रदर्शनीमा रहेका ८० भन्दा बढी उद्योगी स्टल मध्ये लुनियाँ ग्रुपको नेमाटो टायल्स मुख्य टाइटल स्पोन्सरको रूपमा सम्मानित भएका छन् ।

कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङथेप, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, उद्योग संगठन मोरङका उपाध्यक्ष एवं घर निर्माण प्रदर्शनीका संयोजक सुरेन्द्र गोल्छाले ५ वटै उत्कृष्ट स्टलका प्रतिनिधिलाई उत्कृष्ट एक्सिलेन्स अवार्ड प्रदान गरेका थिए ।

उद्योग संगठन मोरङले विराटनगरमा आयोजना गरेको घर निर्माण प्रदर्शनीलाई भव्य रूपमा सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका संगठनका पदाधिकारी र कार्यसमिति सदस्यहरूलाई समेत प्रशंसा पत्रले सम्मान गरेका छन् ।

संगठनका उपाध्यक्ष एवं घर निर्माण प्रदर्शनीका संयोजक सुरेन्द्र गोल्छा, घर निर्माण प्रदर्शनीको विभिन्न समितिमा रहेका कार्यसमिति सदस्य उकेश अग्रवाल, सौरभ सारडा, विरेन्द्र राठी, किरण व्यास, सिद्धार्थ काबरालाई प्रशंसा पत्रले सम्मान गरेका छन् ।

उद्योग संगठन मोरङका कार्यक्रम अधिकृत अशु चौहानलाई उत्कृष्ट कर्मचारीको रूपमा प्रशंसा पत्रले सम्मान गरिएको छ । उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले भव्य रूपमा घर निर्माण प्रदर्शनी पूर्णरुपमा सफल भएको बताए ।

घर निर्माण प्रदर्शनीको समापन समारोहमा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङथेप र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले देशको विषम परिस्थितिमा स्वदेशी उद्योगी उत्पादनको प्रवर्द्धन र सिथिल अवस्थामा रहेको बजारलाई चलायमान बनाउन उद्योग संगठन मोरङले आयोजना गरेको घर निर्माण प्रदर्शनी सराहनीय रहेको बताए ।