- ब्रह्मदेव यादव, विराटनगर ३४० पटक हेरिएको
बुधबार, चैत्र १८, २०८२ समय : १७:२४:५० , १४ घन्टा अगाडि
रोटरी क्लब अफ विराटनगर (फ्यूजन) ले यही चैत २१ गते शनिबार विराटनगरमा ७औं संस्करणको साइक्लोथन प्रतियोगिताको आयोजना गर्न लागेको छ ।
रोटरी क्लब अफ विराटनगर फ्यूजनले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरेर चैत २१ गते शनिबार आयोजना गर्न लागेको साइक्लोथन प्रतियोगिताबारे जानकारी गराएको छ ।
रोटरी क्लब अफ विराटनगर फ्यूजनका अध्यक्ष सोनिया गुप्ता, सचिव विशाखा कौचर, बोर्ड मेम्बर श्वेता तोदी र लक्ष्मी चौधरीले पत्रकार सम्मेलनमा साइक्लोथन प्रतियोगिताबारे जानकारी गराएका थिए ।

रोटरी क्लब अफ विराटनगर फ्यूजनका अध्यक्ष सोनिया गुप्ताले साइक्लोथन प्रतियोगिताको आयोजनाबाट बचेको रकमले मोरङ जिल्लाको कटहरी गाउँपालिकाको वडा नं. ४ मा बसोबास गरिरहेका शौचालय विहीन ५० जना गरिब परिवारका लागि शौचालय निर्माण गरिदिने जानकारी गराए ।
साइक्लोथन प्रतियोगिताबाट बचेको रकम र क्लबका पदाधिकारीहरूको सहयोगमा गरिब परिवारको घर–घरमा ५० वटा शौचालय निर्माण गरिदिने उद्देश्यका साथ साइक्लोथन प्रतियोगिताको आयोजना गर्न लागेको अध्यक्ष गुप्ताले बताए । एक घरमा शौचालय निर्माणका लागि ३५ हजारभन्दा बढी रुपैयाँ खर्च गर्ने तयारीका साथ क्लबका पदाधिकारीहरू अगाडी बढेको अध्यक्ष गुप्ताले बताए ।
गुप्ताले रोटरी क्लब अफ विराटनगर फ्यूजनको अध्यक्ष पदको जिम्मेवारी सम्हाली सकेपछि पहिलो पटक साइक्लोथन प्रतियोगिताको आयोजना गर्न लागेको हो । जुन प्रतियोगिताको भव्य रूपमा आयोजना गर्न तयारीमा जुटेका छन् । अध्यक्ष गुप्ताको अभियानलाई उनका श्रीमान् तथा क्लबका बोर्ड मेम्बर लक्ष्मी चौधरीले साथ दिइरहेका छन् ।
गियर, बिना गियर र सामान्य गरी तीन प्रकारको साइक्लोथन प्रतियोगिताको आयोजना हुन लागेको छ । गियर र बिना गियर प्रतियोगितामा पुरुषले मात्र सहभागिता जनाउन पाउने छन् । सामान्य प्रतियोगितामा महिलाको मात्र सहभागिता रहने छ । गियर र बिना गियर प्रतियोगिताका विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ७ हजार पुरस्कार प्राप्त गर्ने छ ।
महिला तर्फका विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ७ हजार पुरस्कार पाउने छ । साइक्लोथन प्रतियोगितामा सहभागिता जनाउनेले १५ किलोमिटर क्षेत्र फलको दुरी तय गर्नेछ । तर साइक्लोथन प्रतियोगिताको रुट गोप्य राखिए सचिव विशाखा कौचरले बताए ।
चैत २१ गते शनिबार बिहान ७ बजे विराटनगरको आदर्श माध्यमिक विद्यालयको प्राङ्गणबाट साइक्लोथन प्रतियोगिता सुरु हुनेछ । मिस यूनिभर्स नेपाल सोफिया भुजेलले विशिष्ट अतिथिको रूपमा साइकल चलाएर साइक्लोथन प्रतियोगिताको शुभारम्भ गर्ने कार्यक्रम रहेको क्लबका मेम्बर लक्ष्मी चौधरीले जानकारी गराए ।
प्रतियोगितामा सहभागिता जनाउनका लागि १ हजार रुपैयाँ नाम दर्ता शुल्क लाग्ने छ । विद्यार्थीको हकमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । तर त्यसका लागि विद्यार्थी परिचय पत्र अनिवार्य गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत र उद्योगी साकेत मुरारका सञ्चालक रहेको सांग्रिला सुज कम्पनीले साइक्लोथन प्रतियोगितामा सहभागिता जनाउने ५०० जनालाई नै १/१ जोड स्पोट जुत्ता उपहार प्रदान गर्ने क्लबले जानकारी गराएको छ ।
यस बाहेक विभिन्न औद्योगिक तथा व्यापारिक प्रतिष्ठानले साइक्लोथन प्रतियोगिताका सहभागीलाई उपहार प्रदान गर्ने कार्यक्रम रहेको छ ।