आन्तरिक राजश्व कार्यालय विराटनगरको जलेको भवन मर्मत हुँदै

  • ब्रह्मदेव यादव, विराटनगर २०९  पटक हेरिएको

बिहिबार, चैत्र १९, २०८२ समय : १५:०९:१४ , ४ घन्टा अगाडि

२०८२ भाद्र २४ गते जेन्जी आन्दोलनको क्रममा आगजनी भएको आन्तरिक राजश्व कार्यालय विराटनगरको कार्यालय भवन मर्मत सम्भार हुने भएको छ ।

नेपाल सरकारले आन्तरिक कार्यालय विराटनगरको जलेको कार्यालय भवन मर्मत सम्भार गर्नका लागि संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगर मोरङलाई ३ करोड रुपैयाँ बजेट दिने ग्यारेन्टी गरेको छ ।

संघीय सहरी विकास तथा भवन निर्माण विभागको प्राविधिक टोलीले आन्तरिक राजश्व कार्यालय विराटनगरको जलेको कार्यालय भवन मर्मत सम्भार पछि सञ्चालनमा ल्याउँदा कुनै किसिमको जोखिम नरहने दिएको प्रतिवेदनको आधारमा सरकारले संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगर मोरङलाई मर्मत सम्भार कार्य अगाडी बढाउन पत्राचार गरेका छन् ।

संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगर मोरङका प्रमुख सुरेन्द्र कुमार साहले आन्तरिक राजश्व कार्यालय विराटनगरको जलेको भवन मर्मत सम्भारका लागि ३ करोड रुपैयाँ प्रस्ताव गरिएको र केही दिन भित्रमा रकम निकासा हुने बित्तिकै टेन्डर प्रक्रिया मार्फत मर्मत सम्भार कार्य अगाडी बढ्ने बताए ।

चालु आर्थिक वर्ष २०८२/०८३ मा आन्तरिक राजश्व कार्यालय विराटनगरको जलेको भवनको मर्मत सम्भार कार्य सम्पन्न गर्ने गरी अगाडी बढेको बताए ।

आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत केशवकुमार उप्रेतीले कार्यालयको हाता भित्र रहेको कार्यालय भवन र कर्मचारी आवास भवन गरी दुई बेग्लाबेग्लै भवनमा आगलागी भएको जसमध्ये कर्मचारी निवास भवनलाई मर्मत सम्भार गरेर कार्यालय सञ्चालन भइरहेको बताए ।

कार्यालय भवन पूर्ण रूपमा जलेर नष्ट भएको अवस्था छ । हामी नयाँ कार्यालय भवन बनाउने पक्षमा छौँ । तर सरकारले जलेको भवनलाई मर्मत सम्भार गर्ने प्रक्रिया अगाडी बढाएकोले थप बोल्न सक्ने अवस्था नरहेको बताए ।