राजश्व समूहका कर्मचारी सतर्क

  • ब्रह्ममदेव यादव, विराटनगर ५९८  पटक हेरिएको

सोमबार, चैत्र ३०, २०८२ समय : ०८:५६:४८ , १ हप्ता अगाडि

भ्रष्टाचार विरुद्ध सरकारको शून्य सहनशीलताको नीतिलाई मार्ग निर्देशनको रूपमा लिँदै राजश्व समूहका कर्मचारीले सतर्कता अपनाएका छन् ।

नेपाल सरकारका अर्थ सचिव डा. घनश्याम उपाध्यायले केही दिन अघि विराटनगर भन्सार कार्यालय र आन्तरिक राजश्व कार्यालय विराटनगरको अवलोकन गर्दै भ्रष्टाचार विरुद्ध सरकारको शून्य सहनशीलता नीतिलाई मार्ग निर्देशनको रूपमा लिएर अगाडी बढ्न दिएको निर्देशन पछि राजश्व समूहका कर्मचारीले सतर्कता अपनाएका छन् ।

अर्थ सचिव डा. उपाध्यायको निर्देशन पछि विराटनगर भन्सार कार्यालयमा हुने गरेको अवैध लेनदेन बन्दको अवस्था छ ।

यस अघि उद्योगी तथा व्यवसायी प्रतिष्ठान र तेस्रो देशबाट नेपाल भित्रिरहेको सामान भन्सारका कर्मचारीले जाँच पास गरिदिए बापत वर्षौँदेखि चल्दै आइरहेको अवैध लेनदेन प्रणालीमा यतिखेर ब्रेक लागेको छ ।

भन्सार एजेन्ट र उद्योगी तथा व्यवसायी प्रतिष्ठानका प्रतिनिधिले चलनचल्ती अनुसार दिँदै आएको रकम समेत यतिखेर कर्मचारीले लिन छोडेका छन् । केही कर्मचारीले भन्सार कार्यालयमा नभई साँझपख विराटनगरको महँगा होटेल तथा रेस्टुरेन्टमा मदिराको भोजभतेर खाएर अवैध रकम लिइरहेका छन् ।

यस विषयलाई लिएर विराटनगर भन्सार प्रशासन सचेत रहेको छ । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले भ्रष्टाचार विरुद्ध सरकारको शून्य सहनशीलताको नीतिलाई मार्ग निर्देशनको रूपमा लिएर अगाडी बढेको बताए ।

विराटनगर भन्सार कार्यालय मात्र नभई आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत केशवकुमार उप्रेतीले पनि अवैध लेनदेनबारे आफ्‌ना मातहतका कर्मचारीलाई सचेत गराएका छन् ।