- ब्रह्मदेव यादव, विराटनगर २३५ पटक हेरिएको
शुक्रबार, बैशाख ०४, २०८३ समय : १६:१३:३१ , ४ घन्टा अगाडि
ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र कञ्चनवारी, विराटनगर २५औं वर्षमा प्रवेश गरेको छ । २५ वर्ष अगाडी भाडाको घरबाट कञ्चनवारी उपसेवा केन्द्रले सेवा सुरु गरेको थियो ।
उपसेवा केन्द्र कञ्चनवारीले आफ्नै जग्गामा सुविधा सम्पन्न चार तल्ले भवनको निर्माण कार्य पुरा गरेको छ । जुन भवन निर्माणका लागि उपसेवा केन्द्रका सदस्य इन्द्रमणी माताले कञ्चनवारी चौकमा रहेको १३ धुर जग्गा दान गरेका थिए ।
१ करोड ५० लाख भन्दा बढी रकमको लागतमा उपसेवा केन्द्रले ४ तल्ले भवन निर्माणको काम पुरा गरेको छ । दाताको सहयोगमा भवन निर्माणको कार्य पुरा भएको उपसेवा केन्द्र कञ्चनवारीका प्रमुख रोमा दिदीले जानकारी गराइन ।
उपसेवा केन्द्र कञ्चनवारीले शुक्रवार पत्रकार सम्मेलन गरेर २५ वर्ष पुरा गरेको अवसर पारेर रजत जयन्ती महोत्सवको आयोजना गर्न लागेको जानकारी गराए । रजत जयन्ती महोत्सवमा निर्माण कार्य पुरा भएको भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र कोशी प्रदेश विराटनगरका प्रमुख गीता दिदीले रजत जयन्तीको अवसरमा यही वैशाख ४ गतेदेखि १२ गतेसम्म ५ दिवसीय कार्यक्रम आयोजना गर्न लागेको बताइन ।
४ गते पत्रकार सम्मेलन, ६ गते निःशुल्क आँखा शिविर एवं रक्तदान कार्यक्रम, ७ गते शिक्षक तथा शिक्षाविदको स्नेह मिलन एवं सम्मान कार्यक्रम, ८ गते संघ संस्था तथा समाज सेवीहरूको स्नेह मिलन एवं सम्मान कार्यक्रम रहेको जानकारी गराइन । वैशाख १२ गते रजत जयन्ती महोत्सवको समुद्घाटनको कार्यक्रम रहेको कोशी प्रदेश प्रमुख गीता दिदीले बताइन ।
नेपाल पत्रकार महासंघ मोरङ शाखाका सचिव नेत्र पी अधिकारीले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको निस्वार्थ सेवा उदाहरणीय रहेको बताए । पत्रकार सम्मेलनमा ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र संखुवासभाका प्रमुख रचना दिदीको सहभागिता रहेको थियो ।