विराटनगर भन्सारमा कडाई पछि बढ्यो तस्करी

  • ब्रह्मदेव यादव, विराटनगर ६५३  पटक हेरिएको

मंगलबार, बैशाख ०८, २०८३ समय : १२:४७:५५ , ४ दिन अगाडि

नेपाल सरकारले विराटनगर भन्सार कार्यालयमा कडाइ गरेपछि तस्करी बढेको छ । सरकारले १ सय रुपैयाँ भन्दा बढीको सामान भारतीय बजारबाट नेपाल भित्र्याउन नपाउने गरेको व्यवस्थापछि विराटनगर भन्सार कार्यालयमा कडाई गरिएको छ । तर तस्कर गिरोहले भन्सार कडाई सरकारी नियमको फाइदा उठाउँदै तस्करी लाइनलाई व्यापक बनाएको छ ।

केही दिन यता सीमान्त क्षेत्रबाट दिन दुई गुणा रात चार गुणा तरिकाले तस्करीको लाइन सञ्चालन भइरहेको छ । विराटनगर महानगरपालिकासँग सिमाना जोडिएको नेपाल भारतको अन्तर्राष्ट्रिय सिमाना जोगबनी नाकाबाट सर्वसाधारणले यस अघि ५ देखि १० हजार रुपैयाँसम्मको लत्ताकपडा तथा खाद्यान्न सामग्री नेपाल ल्याउँदा कुनै रोकटोक थिएन । तर यतिखेर सर्वसाधारणले जोगबनी नाकाबाट १ सय रुपैयाँ भन्दा बढीको सामान नेपाल भित्र्याउन नपाउने नियम लगाएको छ ।

सरकारको कडा निर्देशनपछि विराटनगर भन्सार कार्यालयमा सर्वसाधारणलाई कडाइ गर्दा तस्करी बढेको प्रति विराटनगरको निजी क्षेत्र सरकारसँग असन्तुष्ट बनेको छ । विराटनगर भन्सार कार्यालय सर्वसाधारणका लागि खुकुलो पार्दा तस्करी ठप्प थियो । तर सर्वसाधारणलाई विराटनगर भन्सार कार्यालयमा कडाइ गर्दा तस्करी झनै बढेको छ ।

विराटनगर महानगरपालिकासँग सिमाना जोडिएको वडा नं. १७ को मटेरुवा र ईसलामपुर, वडा नं. १८ को बुधनगर र भेडियारी, वडा नं. १५ को हुलास चौक र वडा नं. १६ को दरहैया र खादम खोलाबाट रातीको समयमा मोटो परिमाणमा तस्कर गिरोहले लत्ताकपडादेखि खाद्यान्न सामग्री भित्र्याइ रहेका छन् ।

तस्कर गिरोहले यसरी भारतबाट नेपाल भित्र्याइ रहेको तस्करीको सामान विराटनगर हुँदै सुनसरीको विभिन्न स्थानमा पुगिरहेको छ । नेपाली बजारमा तस्करीको सामान सस्तो हुँदा ग्राहकले सस्तो सामान मात्रै खरिद गर्दा नेपाली उत्पादन बिक्री हुन छोडेपछि उद्योगी व्यवसायी चिन्तित बनेका छन् ।

उद्योगी व्यवसायीले बढ्दो तस्करी रोक्न राज्यको ध्यान जान जरुरी रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले विराटनगर भन्सार कार्यालयमा कडाइ हुनु स्वागत योग्य रहेको बताए । तर खुल्ला सिमानाका कारण तस्करी बढेकोले त्यसलाई रोक्न राज्यको ध्यान जान जरुरी रहेको बताए । मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले निजी क्षेत्रले भने जस्तो मोरङ जिल्लामा तस्करीको लाइन सञ्चालन नभएको बताए ।