- चिरफार डटकम, विराटनगर १८४ पटक हेरिएको
शनिबार, बैशाख १२, २०८३ समय : २१:५१:४५ , ४ घन्टा अगाडि
लायन्स कर्मीहरूले शनिवार विराटनगरको लायन्स वाटिकामा वृक्षारोपण गरेका छन् । वातावरण संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय क्यालेण्डर अनुसार लायन्स कर्मीहरूले विराटनगरको लायन्स वाटिकामा वृक्षारोपण गरेको हो ।
विराटनगर महानगरपालिकाको वडा नं. ३ स्थित पोखरीया माध्यमिक विद्यालयको मन्टेश्वरी शाखाको कम्पाउण्ड भित्र लायन्स क्लबले ४ वर्ष अगाडी लायन्स वाटिका निर्माण गरेको थियो ।

लायन्स वाटिकामा २ वटा गेट रहेका छन् । विद्यालयको समयमा विद्यार्थीहरूले र साँझपख स्थानीयवासीले लायन्स वाटिकाको हरियाली पार्कमा रमाउन पाउने छन् ।
लायन्स क्लब अफ विराटनगर, लायन्स क्लब अफ विराटनगर (एक्टिव), लियो क्लब अफ विराटनगर र लियो क्लब अफ विराटनगर (एक्टिव एन.बी.सी.) ले संयुक्त रूपमा आयोजना गरेको वातावरण सम्बन्धी कार्यक्रममा लायन्स वाटिकाको सरसफाइ गर्दै विभिन्न जातको नयाँ बिरुवा वृक्षारोपण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रिकका पूर्व गभर्नर रेवतबहादुर कार्की, विशिष्ट अतिथि लायन्स डिष्ट्रिकका पूर्व गभर्नर फुलकुमार लालवानी, लायन्स क्लब अफ विराटनगरका अध्यक्ष
मनोज मुन्दडा, लायन्स क्लब अफ विराटनगर (एक्टिव) का अध्यक्ष पंकज अग्रवाल सहित लायन्स र लियोका वर्तमान र पूर्व पदाधिकारीहरू लायन्स वाटिकाको सरसफाई तथा वृक्षारोपण कार्यक्रममा सहभागी थिए ।
लायन्सकर्मीहरु शिवनारायण प्रधान, रञ्जना भट्टराई, मञ्जु कार्की, मनिष भट्टराई, चाँन्दबाबु ईराकी, राजेश लखोटिया, कविता सहनी, श्रृजना लुईंटेल, फणिन्द्र थापा, नारायण पराजुली, सुभाषचन्द्र यादव, सशित कर्ण वृक्षारोपण कार्यक्रममा सहभागी थिए ।