नेपाल सरकारलाई मोरङ उद्योग व्यापार संघको सुझाव, विश्वका देशसँग श्रमिक सम्झौता मात्रै नभई व्यापारिक सम्झौता गर्नुस्‌

  • ब्रह्मदेव यादव, विराटनगर २४०  पटक हेरिएको

मंगलबार, बैशाख १५, २०८३ समय : १८:२१:४४ , ५ घन्टा अगाडि

मोरङ उद्योग व्यापार संघ विराटनगरले नेपाल सरकारलाई विश्वका देशसँग श्रमिक सम्झौता मात्र नभई व्यापारिक सम्झौता गर्न सुझाव दिएको छ ।

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले मंगलबार विराटनगरमा सरकारको नेतृत्व गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित प्रतिनिधि सभाका सदस्यहरूलाई स्वागत गर्दै यस्तो सुझाव दिएको हो ।

अध्यक्ष राठीले सरकारलाई सुझाव दिँदै भने: अब विश्वका देशसँग श्रमिक सम्झौता मात्रै गरेर हुँदैन । एक साथ श्रमिक सम्झौतासँगै व्यापारिक सम्झौता गर्नुपर्छ । जसको कारण नेपालको व्यापार अन्तर्राष्ट्रिय स्तरमा पुग्ने र देश समृद्धि तर्फ अगाडी बढ्ने छ ।

सुनसरी–मोरङ औद्योगिक करिडोरमा सञ्चालन भइरहेको औद्योगिक क्षेत्रमा मानव बस्ती विस्तार भइरहेकोले बेग्लै औद्योगिक करिडोरको निर्माणमा अगाडी बढ्न अध्यक्ष राठीले सरकारलाई सुझाव दिए ।

सरकारले आर्थिक वर्ष २०८३/०८४ को लागि बजेट निर्माण गर्दा भारतसँग सिमाना जोडिएको नेपाली बजारलाई चलायमान बनाउने गरी भन्सार राजश्व दस्तुरमा व्यापक फेरबदल गर्न अध्यक्ष राठीले सरकारलाई सुझाव दिए ।

मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष एवं नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडाले खोलानालाको किनारमा बसोवास गरिरहेका सुकुम्वासीलाई सरकारले हटाएकोमा सरकारलाई धन्यवाद दिएका छन् ।

वर्षैदेखि खोलानालाको किनारमा बसोवास गरिरहेका सुकुम्वासीलाई यस अघिको सरकारले हटाउन नसकेको काम बालेन सरकारले गरेर देखाइ दिएकोमा आफू उत्साहित बनेको अध्यक्ष सारडाले बताए ।

देशलाई धारासाही बनाउने काममा संलग्न उद्योगी व्यवसायीलाई सरकारले कारबाही गरेकोमा सारडाले त्यसको स्वागत गरेको छ । तर उद्योगी व्यवसायीलाई देशलाई धारासाही बनाउने सिस्टम ह्याक गर्न सिकाउने र घोटालामा संलग्न कर्मचारीलाई समेत कारबाही गर्न सारडाले सरकारलाई सुझाव दिए ।

मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नविन रिजालले आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माण गर्दा दोस्रो तथा तेस्रो मुलुकबाट नेपालमा आयात भइरहेको १५ भन्दा बढी बस्तुमा भन्सार राजश्व दस्तुर घटाउन सरकारलाई सुझाव दिए ।

भारत र चिनबाट प्रत्येक वर्ष १ करोड धार्मिक पर्यटक नेपाल भित्र्याएको खण्डमा देश आर्थिक रूपमा सम्पन्न हुने भएकोले त्यस तर्फ काम गर्न रिजालले सरकारलाई सुझाव दिए ।

मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष खेमचन्द जैनले विगतको सरकारले देशलाई हानी पुर्‍याउने गरी पोलिसी निर्माण गरेकोले अहिलेको सरकारले देशलाई फाइदा हुने गरी पोलिसी निर्माण गर्न सरकारलाई सुझाव दिए ।

मोरङ उद्योग व्यापार संघ विराटनगरले मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय कोषाध्यक्ष एवं प्रतिनिधि सभाका सदस्य लिमा अधिकारी सहित मोरङ जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसदहरूलाई स्वागत गरेका थिए ।