प्रधानमन्त्री बालेनका श्रीमती सविना काफ्‌ले किन आएनन् विराटनगर ? 

  • ब्रह्मदेव यादव, विराटनगर १८५  पटक हेरिएको

मंगलबार, बैशाख २२, २०८३ समय : १७:०७:०७ , ३ घन्टा अगाडि

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का श्रीमती सविना काफ्‌ले एक कार्यक्रममा सहभागी हुन विराटनगर नआएपछि त्यसको टिका टिप्पणी सुरु भएको छ ।

नेपाल उद्योग परिसंघको केन्द्रीय समिति र कोशी प्रदेश समितिको महिला उद्यम समितिले सोमबार विराटनगरमा आयोजना गरेको कोशी प्रदेश स्तरीय महिला नेतृत्व सम्मेलनमा सबिना काफ्‌लेलाई विशिष्ट अतिथिको रूपमा आमन्त्रण गरिएको थियो ।

कार्यक्रमको निम्तो स्वीकार गरेकी सविना काफ्‌ले आइतबार राती नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष एवं संविधान सभाका सदस्य वरिष्ठ उद्योगी पवन सारडालाई फोन गरेर आफू कार्यक्रममा सहभागी नहुने जानकारी गराएका थिए ।

प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले विराटनगरको जुट मिलको जग्गा कब्जा गरेर बसिरहेका सुकुम्वासीलाई हटाउने अल्टिमेटम दिएको अवस्थामा सुकुम्वासीले त्यसको विरोध गर्ने कार्यक्रम बनाए पछि सविना काफ्‌ले विराटनगरको कार्यक्रममा सहभागी नहुने निर्णय गरेका थिए ।

सविना काफ्‌ले विराटनगर आउने भएपछि सुकुम्वासीहरूले कार्यक्रम स्थल विराटनगरको बरगाछी चोकस्थित होटेल मनास्लु ईन अगाडी धर्ना दिएर सरकारका विरुद्ध नाराबाजी गर्ने कार्यक्रम तय गरेका थिए ।

प्रहरी प्रशासनले सुकुम्वासीहरूले सरकारको विरोध गर्ने कार्यक्रम रहेको सूचना गृह मन्त्रालय मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पुर्‍याएपछि सरकारले सविना काफ्‌लेलाई विराटनगरको कार्यक्रममा नपठाउने निर्णयमा पुगेको थियो ।

प्रधानमन्त्री बालेन श्रीमती सविना काफ्‌ले कति बजे विमानस्थलमा अवतरण हुने र त्यहीबाट सुकुम्वासीहरूले विराधका कार्यक्रम सञ्चालन गर्ने गरेको गोप्य तयारी बारे सूचना बाहिरिएपछि सविना काफ्‌ले विराटनगर नआउने निर्णयमा पुगेको नेपाल उद्योग परिसंघ कोशीका एक पदाधिकारीले बताए ।