विराटनगरको मसाज पार्लर बन्द हुन लागेकै हो त ?

  • ब्रह्मदेव यादव, विराटनगर ३३४  पटक हेरिएको

मंगलबार, बैशाख २९, २०८३ समय : १५:५६:५८ , १९ घन्टा अगाडि

विराटनगरमा सञ्चालनमा रहेको मसाज पार्लर (स्पा) बन्द हुने अवस्थामा पुगेको छ । २ वर्ष अगाडीदेखि विराटनगरमा धमाधम खुलेको ५० भन्दा बढी स्पा ग्राहकको अभावमा बन्द हुने अवस्थामा पुगेको एक स्पा व्यवसायीले बताए ।

विराटनगर महानगरपालिकाको वडा कार्यालयमा दर्ता भएर सञ्चालनमा रहेको स्पा पछिल्लो समय सरकारको कडाइका कारण ग्राहक आउन छोडेपछि स्पा बन्द गर्ने निर्णयमा पुगेको ती व्यवसायीले बताए ।

विराटनगर महानगरपालिकाको दक्षिणी क्षेत्र रानी नाकादेखि उत्तरी क्षेत्र खारजीको ढाट चौकसम्म धरान–विराटनगर सडक खण्डको दुवै तर्फ गरेर ५० भन्दा बढी स्पा सञ्चालनमा रहेका छन् । २ सय भन्दा बढी महिलाले रोजगारी पाएको स्पा ग्राहकको अभावमा बन्द हुन लागेको हो ।

मेचीदेखि महाकालीसम्मको स्पा व्यवसायी महिलाहरूले विराटनगरमा स्पा सञ्चालन गरिरहेका छन् । जुन स्पामा देश भरीकै महिलाले रोजगारी पाएका छन् । काठमाडौं, सिन्धुपालचौक, नेपालगञ्ज, धनगढी, पोखराका महिला विराटनगरको स्पामा महिला कामदारको रुपमा कार्यरत रहेका छन् । विराटनगरको स्पामा अधिकांश भारतीय ग्राहक आउने गरेको छ । केही प्रतिशत नेपाली ग्राहक लुकिछुपी स्पा छिर्ने गरेका छन् ।

त्यो पनि राती ८ बजेपछि फोन गरेर स्पा छिर्ने नेपालीको संख्या न्यून छ । केही समय अगाडी मोरङ प्रहरीले विराटनगरको स्पामा यौनजन्य गतिविधि भइरहेको सूचनाको आधारमा स्पामा छापा मारेर ८ जना सञ्चालक सहित ३६ जना महिला कामदारलाई नियन्त्रणमा लिएका थिए । मापदण्ड विपरीत सञ्चालनमा रहेको ८ स्पाका सञ्चालक विरुद्ध मोरङ प्रहरीले मुद्दा चलायो ।

नियन्त्रणमा लिएका स्पामा काम गर्ने महिला कामदारलाई सोधपुछ पछि उनीहरूलाई छोडियो ।  प्रहरीको नियन्त्रणमा रहेका ८ स्पाका सञ्चालक धरौटीमा रिहा भए । जिल्ला प्रहरी कार्यालय मोरङले मापदण्ड विपरीत सञ्चालनमा रहेको स्पाका विरुद्ध किटानी जाहेरी सहित मुद्दा चलाइएका स्पा यतिखेर पुरानै मापदण्डको आधारमा सञ्चालनमा रहेको छ ।

प्रहरीले स्पामा छापा मारेपछि डरले भारतीय ग्राहक नेपालको स्पामा प्रवेश गर्न छोडेको छ । विराटनगरमा सञ्चालनमा रहेको १ स्पाले १ दिनमा बढीमा २५ जना ग्राहकलाई सेवा दिइरहेका थिए । तर यतिखेर स्पामा ग्राहक आउन छोडेको छ ।

१ दिनमा १ स्पामा २ देखि ३ जनासम्म मात्रै ग्राहक आउँदा खर्च धान्न ग्राहको भएको भन्दै सञ्चालक स्पा बन्द गर्ने अवस्थामा पुगेको हो ।

विराटनगरमा स्पा सञ्चालन गर्ने पुरै घर भाडामा लिन वा ४/५ कोठाको घर भाडामा लिनु पर्छ । मासिक रूपमा घर भाडा बापत १ देखि १ लाख ५० हजार रुपैयाँसम्म तिर्नुपर्छ ।

त्यस बाहेक ५ जना महिला कामदारलाई मासिक रूपमा ३० हजार रुपैयाँका दरले १ लाख ५० हजार रुपैयाँ तलब तिर्नुपर्छ । यस बाहेक मसाज पार्लर, सञ्चालकको खर्च कपडा सरसफाई र सरसफाई कर्मचारीको मासिक तलब १ लाख रुपैयाँ तिर्नुपर्छ ।

२/३ जना ग्राहको भरमा मासिक रूपमा ४ लाख रुपैयाँ खर्च धान्न सक्ने अवस्था छैन । र व्यवसायी स्पा बन्द गर्ने अवस्थामा पुगेका छन् ।