नेपाल उद्योग वाणिज्य महासंघ कोशीमा राजेन्द्र राउतको दोस्रो इनिङ सुरु

  • ब्रह्मदेव यादव, विराटनगर २०९  पटक हेरिएको

बिहिबार, बैशाख ३१, २०८३ समय : १५:०१:०३ , २ घन्टा अगाडि

नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश समितिमा राजेन्द्र राउतको दोस्रो इनिङ सुरु भएको छ । राउतको पहिलो ३ वर्षे कार्यकाल सफलता पूर्वक सम्पन्न भएको थियो ।

राउतले पहिलो कार्यकालमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आफ्‌नै भवन निर्माणका लागि जग्गा खरिद गरेर भवनको निर्माण कार्य सुरु गरेको थियो । भवनको निर्माण कार्य पुरा नहुन्जेलसम्मका लागि एक पटक पुनः राउतलाई नै अध्यक्ष बनिदिन दबाब परेको थियो ।

जुन दबाबलाई थेक्न नसकेर राउत पुनः अगाडी बढेका थिए । र त्यसमा अपार सफलता प्राप्त गरे । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको २०८२ चैत्र २२ गते विराटनगरमा सम्पन्न ८औं प्रदेश सभाबाट सानदार मत प्राप्त गरेर राउत दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

बिहीबार विराटनगरमा पदस्थापन गर्दै अध्यक्ष राउतले ६ महिना भित्रमा आफ्‌नै भवनबाट सचिवालय सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई साक्षी राखेर नवनिर्वाचित पदाधिकारी र कार्यकारिणी समितिका सदस्यहरूलाई पदस्थापन गराउँदै अध्यक्ष राउतले आफ्‌नो ३ वर्षे कार्यकालको समय अवधिमा महासंघ कोशीको निर्माणाधीन भवनको निर्माण कार्य पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।

मोरङ जिल्लाको बुढिगंगा गाउँपालिका स्थित धरान–विराटनगर सडक खण्डको टंकीचौकदेखि पश्चिम तर्फ नेपाल उद्योग वाणिज्य महासंघ कोशीको आफ्‌नै जग्गामा सुविधा सम्पन्न भवनको निर्माण कार्य जारी छ ।

२ करोड ५० लाख भन्दा बढी रकमको लागतमा अढाई तल्ले भवनको निर्माण भइरहेको छ । अबको ६ महिना भित्रमा १ तल्ले भवनको निर्माण कार्य पुरा गरेर सचिवालय सञ्चालनमा ल्याउने अध्यक्ष राउतले प्रतिबद्धता व्यक्त गरेका छन् ।