- चिरफार डटकम, विराटनगर १४६ पटक हेरिएको
सोमबार, जेठ ०४, २०८३ समय : १५:४७:१७ , ४ घन्टा अगाडि
हात हल्लाएको भरमा चुपचाप मतदान गरेका मोरङका सुकुम्बासी बालेन शाह सरकारका विरुद्ध सडक उत्रिएका छन् । सोमबार विराटनगरको सडकमा उत्रिएका मोरङका सुकुम्बासी प्रधानमन्त्री बालेन शाहको राजीनामा माँग गरेका छन् ।

भूमिहीन सुकुम्बासीहरुले संयुक्त संघर्ष समिति मोरङ गठन गरेर बालेन शाह सरकारका विरुद्ध आन्दोलनको घोषणा गरेका छन् । सोमबार विराटनगर–१० स्थित संसारिमाइस्थान मन्दिर प्राङ्गणमा भेला भएका सुकुम्बासी सडकमा प्रधानमन्त्री बालेन शाहका विरुद्ध नाराबाजी गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल मार्फत ज्ञापन पत्र बुझाएका छन् ।

संयुक्त संघर्ष समिति मोरङका संयोजक निशा किरण राई नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी कट्टेल मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै अविलम्ब सुकुम्बासी समस्या समाधान गर्न माँग गरेका छन् ।
संयुक्त संघर्ष समिति मोरङका संयोजक निशा किरण राई र सचिव सुमन पौडेलद्वारा हस्ताक्षरी विज्ञप्ती मार्फत सुकुम्बासी बस्तीमा डोजर आतङ्क तत्काल बन्द गर्न, सुकुम्बासीको सहमतिमा उच्चस्तरीय छानबिन समिति गठन गर्न, उचित व्यवस्थापन सहित सुकुम्बासीको लागत तयार गर्न र ऐलानी जग्गामा बसोबास गरिरहेका सुकुम्बासीलाई तुरुन्त धनी पुर्जा वितरण गर्न माँग गरेका छन् ।